महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित निर्माणाधीन एकीकृत नमूना ‘मुसहर बस्ती’ मा दैनिक ३ सयभन्दा बढीले श्रम गर्छन्। तीमध्ये ४ विदेशी स्वयंसेवक छन्। इन्जिनियर र प्राविधिक पृष्ठभूमिका ३ फ्रेन्च र एक इटालियन युवा निर्माणाधीन घरहरूमा दिनरात पसिना बगाइरहेका छन्। इँटा, बालुवा ढुवानी गर्नेदेखि मजदुरले गर्ने सबै काम उनीहरू आफैं गर्छन्।
रातो अक्षरमा ‘अहिले नगरे कहिले गर्ने’ लेखिएको टिसर्ट लगाएर धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माणाधीन बस्तीमा उनीहरूले श्रम गरेको देख्दा स्थानीय युवा छक्क पर्छन्। फ्रेन्च नागरिक पिटर ‘इनर्जी टेकनिसियन’ हुन ।टोमस इलेक्ट्रोनिक्स र एलेक्स पोस्टम्यान तथा इटालियन नागरिक इभान पेसाले इन्जिनियर हुन्। पिटरले आफूहरू ‘क्विक भोलेन्टियर’ अन्तर्गत श्रम गर्न आएको बताए।
सबै ३ सातादेखि मुसहर बस्तीमा श्रमदान गर्दै आएका छन्। ‘यहाँ ६ सातासम्म श्रमदान गर्ने हाम्रो कार्य तालिका छ, उनले सेतोपाटीसँग भने, ‘मानवीय दायित्व निर्वाह गर्न श्रमदान गरेका हौं।’
नमुना बस्ती अहिले आर्थिक संकटमा छ। तर देश विदेशवाट पुगेका स्वयंसेवकले लक्षित समयमा निर्माण सम्पन गरेर देखाउने बताए पछि हौसला बढाएको फाउन्डेसनले जनाएको छ।
एकीकृत नमुना मुसहर बस्ती परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले भने, ‘यी विदेशी स्वयंसेवकले यो गर्ने र त्यो नगर्ने भन्दैनन्। सानाठूला सबै काम आफैं गर्न खोज्छन्। आइपरेका जुनसुकै काम गर्न अग्रसर हुन्छन् उनले भने, ‘जग खन्नेदेखि इँटा जोडनेसम्मका सबै काम दक्षतासाथ गर्दै आएका छन्।
अभियानकर्ता सीताराम कट्टेल ‘धुर्मुस’ पनि उनीहरूको श्रम देखेर चकित छन्। विदेशी स्वयंसेवकले मुसहर बस्तीमा बगाएको पसिना श्रम मात्र नभएर ठूलो सन्देश पनि हो धुर्मुसले भने, उनीहरूको श्रमदान हाम्रा लागि आफ्नो मुलुक आफैं बनाउनुपर्छ भन्ने प्रेरणा पनि हो। फाउन्डेसनले एकीकृत नमुना बस्तीमा ५० आवासीय घर, सामुदायिक भवन र मन्दिर निर्माण गरी आउँदो वैशाख १ मा समुदायलाई हस्तान्तरण गर्न योजना छ।
हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मस–सुन्तली फाउण्डेसनले पुस तेस्रो साता सुरू गरेको यो महत्वाकांक्षी योजनाको अहिलेसम्म ४५ प्रतिशत काम मात्रै पूरा भएको छ।
‘जसरी भए पनि वैशाख १ गतेसम्ममा भवन हस्तान्तरण गरिसक्नुपर्छ,’ कट्टेलले भने, ‘तर अपेक्षित सहयोग जुट्न नसक्दा समस्यामा छौं।’
अनुमानित लागतमध्ये १ करोड ३ लाख रुपैयाँ सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि निर्माण गरिएको परियोजनाबाट बचेको छ । त्यसबाहेक हालै अस्ट्रेलिया भ्रमणमा ६५ लाख रुपैयाँसहित केही रकम देश विदेशका शुभेच्छुकबाट जुटाइए पनि झण्डै दुई करोड ५० लाख रुपैयाँ अपुग छ। ‘अहिले पनि हामीलाई साढे २ करोड रुपैयाँ अपुग छ,’ कट्टेलले भने, ‘रकम जुटछ भन्नेमा हामी आशावादी छौं तथापि वैशाखमा परियोजना सकेरै छाडछौं।’
‘बस्ती हस्तान्तरणका लागि समय कम भएकाले ठूलो रकमको खर्च पनि तीव्र भइरहेको छ। वैशाख १ गते बस्ती हस्तान्तरण कार्यक्रम तय भइसकेको छ,’ एकीकृत नमुना मुसहर बस्ती परियोजना का संयोजक अर्जुनप्रसाद न्यौपानेले भने, ‘अहिले निर्माण कार्यमा ७० जना डकर्मी, २ सय ५० जना गाउँले श्रमिक, देशी विदेशी गरी १५ जना स्वयंसेवक, ५० जनाजति स्थानीय र फाउण्डेसनकर्मी गरी ३ सय जनाले श्रम गरिरहेका छन। तर, खर्च अभावसँगै निर्माण सामग्रीको जुटाउन गाह्रो हुँदै गएकाले चिन्ता थपिएको छ।’
पुस २५ गते शिलन्यास हुँदा सहयोगको लागि जस्तो उत्साह देखिएको थियो। त्यो क्रमश शिथिल हुँदै गएकोले पनि फाउण्डेसनले चिन्ता जनाएको हो।
तराईको अति विपन्न र पिछडिएको मुसहर समुदायको उत्थानको लागि निर्माणाधीन एकीकृत बस्तीका लागि शुभेच्छा र सद्भाव भएपनि तराई क्षेत्रबाटै अपेक्षा गरे अनुसारको सहयोग जुट्न नसक्दा परियोजनालाई आर्थिक संकट परेको उनले बताए।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मानवता र सदभावका लागि सहकार्यअन्तर्गत मुसहर समुदायको जीवनस्तर उकास्न पुस २५ बाट उनीहरूका लागि घर बनाउने अभियान थालेका हुन् । एकीकृत नमुना मुसहर बस्ती निर्माण अभियानअन्तर्गत १४ कट्ठा १० धुर जग्गामा सुरु गरिएको परियोजनामा ३ कोठा, बरन्डा, चोटा र शौचालयसहितका ५० आवासीय घर, एउटा सामुदायिक भवन र एउटा मन्दिर बनाइँदै छ । बस्तीमा एउटा स्वागतद्वार, प्रतीक्षालय, बालउद्यानसहित दुई सार्वजनिक शौचालय र तीनवटा सार्वजनिक धारा निर्माण गरिनेछ । कुल परियोजना लागत ४ करोड ७८ लाख रुपैयाँ पुग्ने अनुमान छ ।
मुसहर बस्तीका सहित तीन सय जना घर निर्माणमा सक्रिय छन् । हरेक घरका एक जना अनिवार्य खटनपर्ने नियम बनाइएको छ । घरलौरीका एक जनाले निर्माणमा खटेबापत मासिक नौ हजार रुपैयाँ पाउँछन् । परिवारका अन्य सदस्य खटेबापत ४ सय रुपैयाँदेखि कामको प्रकृति हेरी ज्याला दिइन्छ।