राजकुमार!
आफ्नो पच्चीसौँ जन्मदिन मनाउन
यो अँध्यारो खण्डहरजस्तो
एउटा सुनसान वृद्धाश्रमभित्र
आइपुगेका छौ तिमी!
तिमीलाई धेरै धेरै धन्यवाद छ!
आज हामीलाई सम्झेर यहाँसम्म आइपुग्यौ
हृदयदेखि नै आशिर्वाद छ तिमीलाई!
...
तिमीले राम्ररी देख्यौ होला नि—
कालको निष्ठुरी छायाँले पनि बिर्सेर गएका
केही प्राचीन जनावरहरु मात्र बसिरहेका छौँ यहाँ!
हामीजस्तै अनाथ देवताहरुको
अखण्ड आरती गाउँदै
पात झरिसकेका केही बूढा रुखहरु मात्र
एक्लै एक्लै सुसाइरहेका छौँ यहाँ!
यो मन्दिरजस्तो देखिने निर्जन मसानघाटभित्र
ईतिहासका केही
अनौठा भूतप्रेतहरु मात्र रोइरहेका छौँ यहाँ!
मृत समयको एउटा बेवारिस कारागारभित्र
हामी त आजीवन कैदी बनेर मरिरहेका छौँ यहाँ!
...
यति बिहानै चाँदीको किस्तीभरि
के बोकेर आयौ तिमी?
तिमीले ल्याएका करुणा र प्रेमका अमूल्य उपहारहरु
ऊ ती रोइरहेका बाआमाहरुलाई बाँडिदेऊ,
जसले कुनै दिन तिमीजस्तै राजकुमारहरु
जन्माएका थिए यो धरतीमा!
यौवनभरि सपनाको कोक्रो हल्लाएका थिए उनीहरुले
र आफ्नै कलेजाको हाँगा काटेर
सन्तानहरुलाई लौरो बनाइदिएका थिए!
...
उनीहरुलाई नै बाँडिदेऊ तिम्रो मायाको कोसेली,
जो आज आफ्नै समुद्रमाथि
मरुभूमि बनेर रोइरहेका छन्!
मलाई तिमीले आज केही पनि दिनु पर्दैन!
प्रेमको फलफूल, मिठाई वा दही
उनीहरुलाई नै बाँडिदेऊ!
आस्थाको लुगा, चप्पल वा दोसल्ला
उनीहरुलाई नै बाँडिदेऊ!
...
तर तिमी घर फर्किनुअघि
एउटा कथा सुनेर जाऊ राजकुमार!
आज तिम्रो पच्चीसौँ जन्मदिन जस्तै
मेरो पनि असीऔँ जन्मदिन हो!
मसँग असी वर्षसम्म कसैलाई सुनाउन नपाएको
जीवनको एउटा अजम्बरी कथा छ!
म मेरो समयलाई सुनाउन चाहन्थेँ यो कथा
तर सुन्दै नसुनी
मलाई बगरको एक्लो ढुङ्गो बनाएर
अँधेरी खोलाझैँ भागिरह्यो मेरो समय!
...
म आज तिमीलाई त्यही पुरानो कथा
जन्मदिनको उपहार दिन चाहन्छु!
म मेरो जीवनभरिको सपना
उपहार दिन चाहन्छु तिमीलाई!
म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
तिम्रो देशका हरेक घरहरु
रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
तर म तिमीलाई
मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!
...
राजकुमार!
के तिमी एकछिन धैर्य गरेर
सुन्न सक्छौ यो कथा?
...
‘उहिले एकादेशमा .................
उहिले एकादेशमा .................
उहिले एकादेशमा ................
.......................................................................!!’
...
उफ्!
आँखा खोलेर हेर्दा
तिमी पनि कतै भागिसकेछौ!!