निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सनको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष बिजय सम्बाहाम्फे र टीकाराम पुरीबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपाध्यक्ष सम्बाहाम्फेले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औै महाधिवेशनमा आफू अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरे। पुरीले यस अघि नै अध्यक्षको उम्मेद्वारी हुने घोषणा गरिसकेका छन्। अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका सम्बाहाम्फे र पुरी दुवै जनाले प्याब्सनलाई शिक्षाको मन्दिरको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका छन्।
वरिष्ठ उपाध्यक्ष सम्बाहाम्फेले अग्रजहरुले देखाएको बाटोमा निरन्तर अघि बढाउन पनि आफूले उम्मेद्वारी दिनु परेको बताएका छन्। उनले विद्यालयनै संचालन नगरेकाहरुलाई अव प्याब्सनको नेतृत्वमा ल्याउन नदिने जिकिर गरे। सम्बाहाम्फेले आफूले शिक्षा क्षेत्रकै विकासमा २२ वर्ष बिताएकाले सोही अनुभवलाई व्यवस्थित गर्न पनि आफूले अध्यक्षको उम्मेदवारी दिने निर्णय लिएको पनि स्पष्ट पारे।
पुरीले १२ औं महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए। सोमबार काठमाडौंमा प्याब्सनको १३ औं महाधिवेशन हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व र नीति चयन गर्ने प्याब्सनले जनाएको छ।