परराष्टमन्त्री प्रकाशशरण महतले युरोपेली आकाशमाथि लाग्दै आएको उडड्यन प्रतिबन्ध छिट्टै फुकुवा हुने बताएका छन्। ब्रसेल्समा आयोजित शान्ति सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन्।
दक्षिण एसियाको उड्डयन सुरक्षा मापदण्ड नेपालले पनि पुरा गरेकाले युरोपेली आकाशमा लगाईएको प्रतिबन्ध फुकाउन आफूले गरेको आग्रहमा बेल्जियम र लक्जेम्बर सरकारले पुनर्समिक्षा गर्ने भन्ने प्रतिवद्धता जनाएकाले छिट्टै युरोपेली आकाशमा लागेको उड्डयन प्रतिबन्ध फुकुवा हुनेमा आफू विश्वस्त भएको उनले स्पष्ट पारे। एसिया प्यासिफिकको उड्डयन सम्बन्धी मापदण्ड ५९ छ भने नेपालले ५८ दशमलब ४ अंक मात्रै प्राप्त गरेको छ। यद्यपि आफूहरुको आग्रहमा युरोपेली मुलुकका सरकार सकारात्मक रहेको र उड्डयन सम्बन्धी मापदण्डको पुनर्समिक्षा गर्ने बताएको उनले उल्लेख गरे।
मन्त्री महतले शान्ति सम्मेलनका क्रममा युरोपेली मुलुकले नेपालको विकास र भुकम्प पछिको पुनर्निर्माणमा सहयोग गर्ने तथा नेपालको समग्र शान्ति प्रक्रिया लोकतन्त्र संस्थागत तथा निर्वाचनका बारेमा छलफल भएको बताए। सो क्रममा लक्जेम्बर सरकारले पनि अफिसियल डेभलपमेन्ट सहयोग गर्नेमा चासो देखाएको महतले उल्लेख गरे।