बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ।
तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो। तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन्। हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ। पाल्पाबाट आएको तिनाउ नदी बुटवल हुँदै रुपन्देहीका विभिन्न गाविस भएर बग्छ।
खास गरी वर्षाद्मा तिनाउ वारपार गर्न कठिन हुने भएकाले धमाधम पुल निर्माण गरिएको कार्यालयका प्रवक्ता इन्जिनियर जयलाल मरासिनीले बताए। तिनाउ र दानव नदीमा मात्रै ९९ करोड ३८ लाख रुपैयाँको लागतमा पुल निर्माण भइरहेका छन् ।
पूर्वपश्चिम राजमार्गबाट लुम्बिनी जोड्न बनेका सडकमा धेरै पुल निर्माण भएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएका सबै पुल २०७६ सालमा सम्पन्न हुने बताइएको छ । यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रलाई बुटवलसँग नजिक बनाउने अपेक्षा गरिएको छ । बुटवल–१३ देवीनगर र मोतीपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको छ।
वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुल गत वर्ष आएको बाढीले बगाएपछि उक्त पुल निर्माणलाई तीव्रता दिइएको हो। रासस