पूर्वराजा ज्ञानेन्द्र शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गरी शुभकामना सन्देश दिएका छन्। शुभकामना दिँदै उनले हरेक नेपालीले पाइला-पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र भएको बताएका छन्।
उनले नेपालमा वर्तमान अवस्थामा त्यस्तो नभएको बताएका छन्। प्रजातन्त्र माथि नै प्रश्न उठाउँदै उनले भनेका छन्, ‘नेपालको अहिलेको अवस्था प्रजातन्त्र हो कि होइन? नेपालीले पाइला–पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र हो।'
उनले प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्ने र राष्ट्रलाई सर्वोपरी ठान्नु पर्ने पनि उल्लेख गरेका छन्।
'राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन्छ। त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अँगाल्नु पर्दछ, उनले भनेका छन्, 'हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन्। तिनलाई जोगाउनु, बचाउनु र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो।'