फाइल फोटो
व्यवस्थापिका ससंद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बागलुङ शाखाले आयोजना गरेको सडक खाना महोत्सवको शुक्रबार उद्घाटन गर्दै सभापति अधिकारीले अधिकारको राजनीति गर्ने समय सकिएको उल्लेख गरे। उनले राजनीतिप्रति बढेको निराशा र कुण्ठालाई समाप्त पार्न मुलुकलाई समृद्धितिर लानुपर्ने बताए।
‘सुखी नेपाली र समृद्ध नेपालको लागि अबको राजनीति केन्द्रित हुनुपर्छ’ सभापति अधिकारीले भने “नागरिकको जीवन जिउने र सोँच्ने तरिकामा परिवर्तन ल्याउनैपर्छ ।”
उनले अस्थिर राजनीतिले लोकतन्त्र र राज्यका संरचनालाई कमजोर पारिरहेको विचार राखे। “राजनीतिक नेतृत्वले अब आफूलाई सच्चाउनैपर्छ, एक–अर्कालाई गाली गरेर बस्ने समय छैन” नेता अधिकारीले भने।
उनले संविधान कार्यान्वयनको लागि निर्वाचन पहिलो सर्त रहेको भन्दै आगामी माघभित्रै तीनै तहको निर्वाचन हुनुपर्नेमा जोड दिए। आवधिक निर्वाचनले मात्र लोकतन्त्र र प्राप्त उपलब्धिको संस्थागत विकास हुने उनको भनाइ छ।
संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन अगुवाइ गरिरहेको उनले बताए।
प्रदेश नं– ४ का सबै जिल्ला समेट्ने गरी चक्रपथ निर्माणको योजना अघि बढाउन आवश्यक अध्ययन सुरु गरिएको उनको भनाइ छ । रासस