एउटै रकेटबाट अन्तरिक्षमा १०४ वटा भू-उपग्रह प्रक्षेपण गरेर भारतले आज विश्व कीर्तिमान कायम गरेको छ। यसअघि सन् २०१४ मा रसियाले ३७ वटा स्याटेलाइट एउटै रकेटबाट प्रक्षेपण गरेको थियोl
उक्त रेकर्ड तोड्दै भारतले आज आफ्नो श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट १०४ वटा भू-उपग्रह प्रक्षेपण गरेको होl
१०४ वटा स्याटेलाइट मध्ये ३ वटा मात्र भारतको होl बाँकी भू-उपग्रह उसले भाडामा लिएर अन्तरिक्षमा प्रक्षेपण गरेको होl उक्त सफलतासँगै भारत अर्बौं डलरको अन्तरिक्ष बजार प्रवेश गरेको जानकारहरुले बताएका छन्l
भारतले प्रक्षेपण गरेको रकेटले २७ हजार किलोमिटरको प्रतिघन्टाको रफ्तारमा आज बिहान ९ बजेर २८ मिनेटमा पृथ्वी छाडेको थियो l त्यसको ३० मिनेटमा उसले १०४ वटै स्याटेलाइटलाई अन्तरिक्षमा छाडेको थियो l
भाडा लिएर निजी कम्पनीका भू-उपग्रहलाई अन्तरिक्ष प्रक्षेपण गर्ने प्रक्रिया अहिले बढेको छl मोबाइल फोन, इन्टरनेट र गुणस्तरीय सञ्चारका लागि आफ्नै भू-उपग्रह प्रयोग गर्ने चलन बढेको छ l विभिन्न देश र कम्पनिहरुले गुणस्तरीय सञ्चारका लागि भू-उपग्रह पठाउने गर्छन्l भारतको त्यस्तो अन्तरिक्ष सेवा सस्तो पर्छ l
रकेटले बोकेको मुख्य स्याटेलाइट ७१४ किलोको छ जसले पृथ्वीको निरीक्षण गर्ने छ l त्यसमध्ये १०३ वटा साना स्याटेलाइट छन् जसको कुल वजन ६६४ किलो छ l
उक्त योजनाका निर्देशक बी जयकुमारले भनेका छन् - यो हामी सबैका लागि अविष्मरणीय क्षण हो। आज हामीले इतिहास रचेका छौं l’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त योजनामा संलग्न वैज्ञानिकलाई बधाई दिएका छन् l
१०४ मध्ये ९६ वटा अमेरिकी कम्पनी प्लानेटका हुन् भने बाँकी इजरायल, काजगस्तान, युएइ, स्विज़रल्याण्ड र नेदरल्यान्डका हुन्l