नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।
एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज आयोजित यहाँ सम्बोधन गर्दै उनले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताइन्।
“व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनौं” उनले भनिन् “मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो।”
उनले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राखिन्।
उनले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गरिन्।
कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनेक बहानामा निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत रहनुपर्ने बताए।
उनले आगामी माघ ७ गतेभित्र निर्वाचन गरेर देशलाई निकासको बाटोमा लैजानुको विकल्प नभएको बताए। उनले जित्न वा हार्नका लागि नभई देश बचाउन तीनै तहको निर्वाचन आवश्यक रहेको उल्लेख गरे।
“चुनावको ढोका बन्द गर्नु कदापी हुँदैन। चुनाव नहुँदा पार्टीलाई अधिनायकतर्फ लैजान्छ” उनले भने “जनप्रतिनिधि नहुँदा बजेटमा हिनामिना भएको छ ।”
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसके प्रमुख तीन दलसहित मधेसवादी दललाई समेत समेटेर नयाँ सरकार गठन गरेर चुनाव गर्नुपर्ने बताए।
एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीले निर्वाचन पार्टीको एकमात्र एजेन्डा भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए।
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल पत्रकार महासङ्घमा प्रेस युनियन नेपालले लगाइएको ताला खोल्न आग्रह गरे।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासङ्घको ताला खोलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । रासस