विश्वका दुई विरोधी क्लब स्पेनको रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल हुँदा संसारभरीका फुटबल प्रेमीले चासो राख्ने गर्छन्। च्याम्पियन्स लिगलाई छोडेर कुरा गर्ने हो भने यी दुई क्लब प्रायः स्पेनको घरेलु मैदानमा मात्र फुटबल खेल्छन्।
तर, यसपालि अमेरिकाले स्पेन बाहिर यी दुई क्लबबीचको प्रतिस्पर्धालाई उजागर गर्ने भएको छ। आउँदो गर्मी याममा म्याड्रिड र बार्सिलोना मियामीको ६५ हजार दर्शक क्षमता भएको रंगशाला ‘हार्ड रक’ मा प्रतिस्पर्धा गर्ने भएका छन्। यी दुई क्लबबीच स्पेनबाहिर ३५ वर्षपछि मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो।
सन् १९८२ मा म्याड्रिड र बार्सिलोनाबीच ‘अल क्लासिको’ भिडन्त भएको थियो। भेनेजुएला कपअन्तर्गत भएको खेलमा म्याड्रिड १–० ले विजयी भएको थियो। त्यतिबेला भिसेन्ट डेल बोस्क्युले निर्णायक गोल गरेका थिए।
मियामी हुन लागेको खेलमा बार्सिलोनाका स्टार लिओनल मेसी र म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो पनि मैदानमा उत्रिने छन्।
ला लिगाअन्तर्गत यी दुई क्लबबीचको भिडन्त भने अप्रिल २३ मा म्याड्रिडको घरेलु मैदान बेर्नाबेउमा हुँदैछ। यसपालिको ला लिगाअन्तर्गत बार्सिलोनाको नोउ क्याम्पमा भएको खेलमा म्याड्रिड १–० ले विजयी भएको थियो।