भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ।
एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको हो।
भूकम्पपीडितको लगत सङ्कलनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएका ३४ जना इन्जिनियरमध्ये १८ इन्जिनियरले आफ्नो काम पूरा गरेको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख शिवनारायण महतोले बताए। “अठार इन्जिनियरले आफ्नो काम पूरा गरेको क्लियरेन्स लिइसकेका छन्” उनले भने, “बाँकी दश प्रतिशत गाविसमा पनि लगत सङ्कलनका काम धमाधम भइरहेको छ।”
जिल्लाका १३ हजार ७९९ पीडितमध्ये हालसम्म दश हजार ६०० बढी भूकम्पपीडितको लगत सङ्कलन र प्रमाणीकरणका काम सकिएको महतोले जानकारी दिए। भूकम्प गएको १९ महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षणका काम सुरु गरिएको हो।
कतिपय भूकम्पपीडितको नाम दोहोरिएको, एउटै परिवारको क्षति दुई जनाको नाममा परेकोलगायतका कारण भूकम्पपीडितको नाम केही घट्ने अनुमान गरिएको छ। पीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सकिएलगत्तै अनुदान सम्झौताको काम तत्काल सुरु गरिने जनाइएको छ।
सर्वेक्षणमा खटिएका इन्जिनियरले भूकम्पपीडित भनिएका घरमा पुगेर भूकम्पपीडितलाई एकदेखि पाँच वर्गमा वर्गीकरण गर्ने र तीनदेखि पाँच वर्गमा पर्ने लाभग्राहीलाई मात्र अनुदान उपलब्ध गराइने महतोले बताए।
गाविस सचिवमार्फत अनुदान सम्झौता गरेर जिविसमार्फत कोलेनिकामा पठाइएपछि चेक तयार पारेर अनुदान सम्झौता, नागरिकता र फोटोसहित बैंक पुगेका पीडितले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र अन्तिममा एक लाख गरी तीन लाख रुपैयाँ अनुदान पाउने छन्।
गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम १३ दिन ढिला गरी पुस २८ गतेदेखि सुरु गरिएको थियो।
यसअघि नै बनिसकेका घर तथा राहत पाइसकेका पीडितलाई पनि मापदण्ड पुगे अनुदान प्रदान गरिने जनाइएको छ। रासस