तस्बिरः रोयटर्स
पहिलो पटक कोपा डेल रेको फाइनलमा पुगेको आल्भेस क्लबलाई बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिवार रातीको खेलमा ६–० ले पराजित गरेको छ।
आउँदो मे महिनामा यी दुई क्लबबीच कोपा डेल रे उपाधिको भिडन्त हुँदैछ। बार्सिलोनाले सेमिफाइनलमा एट्लेटिको म्याड्रिडलाई हराएको भोली पल्टै आल्भेसले सेल्टा भिगोलाई पराजित गरेर पहिलो पल्ट कोपा डेल रेको फाइनल पुगेको थियो।
ला लिगाको एकपक्षीय खेलमा बार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारले गोल गरे। सुआरेजले २ गोल गरेका थिए। उनले खेलको ३७ मिनेटमै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ६७ मिनेटमा अर्को गोल गरे।
नेइमारले भने ४० मिनेटमा गोल गरेका थिए। मेसीले दोस्रो हाफको खेल सुरु भएको ५९ मिनेटमा गोल गरे। इभान राकिटिकले ६५ मिनेटमा गोल गरेका थिए। एक गोल आत्मघाती भएको थियो। ६३ मिनेटमा रुवानो डेलगाडोले आत्मघाती गोल गरेका थिए।
यो जितसँगै बार्सिलोना अंक तालिकामा रियल म्याड्रिडभन्दा एक अकले मात्र पछाडि छ। बार्सिलोनाको २२ खेलमा ४८ अंक छ। बार्सिलोनाभन्दा २ खेल कम खेलेको म्याड्रिडको ४९ अंक छ।