राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्षमा जीवनकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। आज बिहान सम्पन्न राप्रपा र राप्रपा नेपालको एकतापछिको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि राप्रपाका जिल्ला अध्यक्ष रहेका ललितकुमार राई एकतापछिको अधिवेशनबाट पार्टीको सहअध्यक्ष बनेका छन्। तीन दिनसम्म चलेको अधिवेशनले ५५ सदस्यीय जिल्ला समिति बनाएको राप्रपाले जनाएको छ।
केन्द्रीय महाधिवेशनपछि जिल्ला समितिको अन्य पदाधिकारी छनोट गरिने राप्रपाले जनाएको छ। अधिवेशनले क्षेत्र नं १ मा मोतीचन्द्र राईको अध्यक्षतामा र क्षेत्र नं २ मा नीर चाम्लिङको अध्यक्षतामा २१/२१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ।
अधिवेशनले जिल्ला समितिबाट नौजना, दुई निर्वाचन क्षेत्रबाट नौ/नौ र दिक्तेल नगर समितिबाट दुईजना गरी २९ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ। राप्रपाको जिल्ला कार्य समितिबाट अध्यक्ष श्रेष्ठ, सहअध्यक्ष राई, सदस्यहरु चन्द्रसिं बस्नेत, प्रेमकुमारी राई, प्रताप राई, केशरमान कामी, ताराकुमार थापा, गुणराज भण्डारी र रामचन्द्र भट्टराईलाई महाधिवेशन प्रतिनिधि छानेको छ ।
क्षेत्र नं १ बाट धर्मराज पोखरेल, विजयकला राई, जगदीश राजभण्डारी, विष्णु गिरी, ज्ञानबहादुर राई, सीता राई, मोहितराम राई र भीमबहादुर विश्वकर्मा तथा क्षेत्र नं २ बाट नीर चाम्लिङ, अर्जुन राई, रविन चाम्लिङ, अमर केसी, कृष्णकुमारी राई, बर्जमान राई, जौडीमान दर्जी, मिनुहाङ राई, इन्द्रबहादुर राई र शुभकुमार राई महाधिवेशन प्रतिनिधिमा छानिएका छन्। दिक्तेल नगरपालिकाबाट सीताराम राई र चन्द्रकुमारी राई (तारा) महाधिवेशन प्रतिनिधि बन्नुभएको राप्रपाले जनाएको छ। आगामी फागुन ६ गतेदेखि हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशन गरिएको जनाइएको छ ।
केन्द्रमा तत्कालीन राप्रपा र राप्रपा नेपालबीच मङ्सिर ६ गते एकीकरण घोषणा भए पनि जिल्लामा भने पुस २ गते घोषणा भएको थियो । दुई राप्रपाको एकतापछिको अधिवेशन मङ्गलबार राप्रपाका सहमहामन्त्री अर्जुन राईले उद्घाटन गरेका छन्। रासस