पोखरामा जारी अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार लिग चरणका खेल सकिएसँगै दुबैतर्फको सेमिफाईनल समिकरण पूरा भएको हो।
प्रतियोगिताको पुरुषतर्फ ग्रुप ‘ए’ बाट नेपाल प्रहरी बिजेता र आयोजक पश्चिमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
यस्तै समूह ‘बि’ बाट नेपाल आर्मी समूह बिजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ भने एपिएफ उपबिजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ।
त्यस्तै, महिलातर्फ समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लव समूह बिजेता र आयोजक पश्चिमाञ्चल उपबिजेता तथा समूह ‘बि’बाट न्यू डायमण्ड एकेडेमी समूह बिजेता र नेपाल प्रहरी उपबिजेता बन्दै सेमीफाइनल प्रवेश गरे।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुषतर्फको खेलमा पश्चिमाञ्चललाई उत्तर प्रदेश भारतले वाक ओभर दिएपछि पश्चिमाञ्चलको सेमिफाइनल यात्रा सुनिश्चित भएको थियो। यसअघि नेपाल प्रहरीसँग सोझो सेटमा पराजित भए पनि उत्तर प्रदेश भारतले पश्चिमाञ्चललाई पनि वाकओभर दिएपछि आयोजकको भाग्य खुलेको हो।
नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा पराजित गरेको थियो भने उत्तर प्रदेशबाट उसले पनि वाक ओभर पाएपछि ६ अंकसहित समूह बिजेता बनेको हो। मंगलबार भएको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले नेपाल आर्मीलाई ३/२ को सेटमा पराजित गरे पनि सेमिफाइनल यात्रा सुनिश्चित गर्न सकेन।
मंगलबारको खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले नेपाल आर्मीलाई २२—२५, २५—१५, २५—२७, २५—१३, १५—११ को सेटमा पराजित गर्यो।
उद्घाटन खेलमा सशस्त्र प्रहरी वल एपिएफलाई पराजित गरेको नेपाल आर्मी मंगलबारको खेलमा बेष्ट अफ फाइभमा गएसँगै ४ अंकसहित समूह बिजेता बन्यो भने एपिएफले हेल्प नेपाल स्पोर्टस क्लवलाई पराजित गरिसकेकाले हेल्प नेपाल स्पोर्टस क्लव प्रतियोगिताबाटै बाहिरियो र एपिएफ सेमीफाइनलमा प्रवेश गर्यो।
महिलातर्फ पहिलो खेल गुमाएको आयोजक पश्चिमाञ्लले मंगलबारको खेलमा नेपाल आर्मीलाई २५—१६, २५—१६ र २५—१८ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो । दुई खेल जितेकाले एपिएफ सोमबार नै सेमीफाइनल पुगिसकेको थियो।
समूह ‘बि’ बाट दुई खेल जित्दै न्यू डायमण्ड एकेडेमी ६ अंक बटुल्दै समूह बिजेता बन्यो भने नेपाल प्रहरी एक खेल जित्दै ३ अंकसहित समूह उपविजेता बन्यो । पहिलो खेल नेपाल प्रहरीलाई जितेको न्यू डायमण्डले मंगलबार उत्तर प्रदेश भारतलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
न्यू डायमण्डले २५—६, २५—६ र २५—१० को सेटमा उत्तर प्रदेशलाई पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत बुधबारदेखि सेमीफाइनल खेल शुरु हुनेछन्। बुधबार दिउँसो १२:३० बजे हुने पहिलो सेमिफाइनलमा महिलातर्फको समूह ‘ए’ को बिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव र समूह ‘बि’ को उपबिजेता नेपाल प्रहरी प्रतिष्पर्धामा उत्रिनेछन्। त्यस्तै अपराह्न २:३० बजे हुने दोस्रो सेमीफाइनलमा पुरुषतर्फ समूह ‘ए’ को बिजेता नेपाल प्रहरी र समूह ‘बि’ को उपबिजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लव आमनेसामने हुनेछन्।
त्यस्तै, विहीबार हुने महिलातर्फको दोस्रो सेमीफाइनलमा समूह ‘बि’ को बिजेता न्यू डायमण्ड एकेडेमी र समूह ‘ए’ को उपबिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव प्रतिष्पर्धामा उत्रिनेछन् भने पुरुषतर्फको दोस्रो सेमीफाइनलमा समूह ‘बि’ को बिजेता नेपाल आर्मी र समूह ‘ए’ को उपबिजेता आयोजक पश्चिमाञ्चल आमनेसामने हुनेछन्।
पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखि सुरू प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ।