लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन्।
गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताए।
जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र थियो। तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए। अघिल्लो आव ०७१/७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत थियो।
जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले भने “सङ्ख्यात्मक रुपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ तर ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगती भएको छ।”
पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ। “पुरुषले प्रयोग गर्ने भन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्” चापागाईले भने। रासस