महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ।
समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निक्कै बढेको पाइएको छ।
वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयौं क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेका छन्। तस्करीका लागि राखिएका त्यस्ता बरामद गरिएका काठ जिल्लाको लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन्।
वन गस्तीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ। काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब तीन लाख रुपैयाँ अनुमान गरिएको छ।
बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए।
जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन्। वन पदाधिकारीकाअनुसार काठ चोरी तस्करी नियन्त्रण हुननसक्दा सबै वनको अवस्था एकै जस्तो छ।
सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ। रासस