भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ।
ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न सङ्कायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताए।
विद्यार्थीले बनाएका रोबर्टलगायत ८४ वटा विज्ञानसँग सम्बन्धित विषयको प्रदर्शनी, व्यवस्थापन सङ्कायको ४२, शिक्षा सङ्कायको १५ र मानविकी सङ्कायको २२ वटा विषयको प्रदर्शनी गरिने बताइएको छ। प्रदर्शनीमा रहेको उत्कृष्ट स्टललाई पुरस्कृत गरिने भएको छ।
कार्यक्रममा दौड, चेस, भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस खेलका विजयी खेलाडी, भक्तपुर काभ्रे अन्तरकलेज बास्केटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ।
त्यस्तै माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार, कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिने र १० वर्ष सेवा अवधि पूरा गरेको शिक्षक तथा कर्मचारीलाई कदरपत्रद्वारा सम्मान गरिने भएको छ। रासस