नदी एउटा दिशामा मात्र बग्छ ।
र पनि हजारौँ हजार वर्षदेखि
चुपचाप त्यसरी बिना कुनै गुनासो
कैयौ नदीहरु बगिरहेकै छन् ।
ऊ एउटा नदी हो ।
यो धर्तीमा एक पटकमा
एकातिर मात्र घाम लाग्छ ।
र पनि केही नबोली
घुमिरहेकै छ
निरन्तर यो पृथ्वी ।
ऊ एउटा पृथ्वी हो ।
शताब्दीऔंदेखि घडीको सुई
एकातिर मात्र घुम्दैछ ।
खै कहाँ पुग्छु भनेर हो !
थाहा छैन ।
ऊ एउटा घडी हो ।
एक्लो को छ यहाँ
जो मनको यात्रा गर्छ !
ऊ त आफ्नै मनसँग छ ।
किनकि,
माया गर्छ ऊ ।
बेपरवाह गर्छ ।
अथाह गर्छ ।
बेलगाम गर्छ ।
एकतर्फी माया ।
चुपचाप ।
मौन ।
नदी, पृथ्वी र घडीजस्तै ।