नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिको अभियानमा जुट्नुपर्नेमा जोड दिएका छन्।
पार्टीका संयोजक भट्टराईले आफ्नो पार्टी मुलुक निर्माणको बैकल्पिक शक्ति भएको दाबी पनि गरे। उनले पुराना दलहरुबाट मुलुकको निर्माण अभियान संचालन नहुने भएकालेनै नयाँ शक्ति पार्टीले नयाँ अभियान संचालन गर्नु परेको जिकीर पनि गरे।
काठमाडौंमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक संगठनको प्रथम केन्द्रिय भेलामा बोल्दै संयोजक भट्टराईले मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै त्यो अभियानलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिए।
संयोजक भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई राज्यको सबै अंगमा प्रतिनिधित्व गराउन आफनो पार्टीले पहल गर्ने आश्वासन पनि दिए। उनले सामाजिक विभेद अन्त्यका लागि धैर्यतापूर्वक संघर्ष गरिरहनुपर्ने धारणा पनि राखे।
कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकहरुलाई पहिचान दिन सरकार र राजनीतिक दलहरु गम्भीर नभएको आरोप पनि लगाएका थिए।