खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपैयाँ नपाए आगामी वर्ष काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न नसकिने चेतावनी दिएको छ।
शुक्रबार व्यवस्थापिका संसद विकास समितिको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विभिन्न निकायले सडक बिस्तार र मर्मतका क्रममा नष्ट गरिएका पाइप मर्मतका लागि एक साता भित्र आवश्यक रकम उपलब्ध नभए आगामी हिउँदमा पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न नसकिने बताएका हुन्। उनले सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक खन्ने क्रममा खानेपानीका पाइप नष्ट भएकाले तत्काल मर्मत नभए खानेपानी वितरणमा कठिनाई हुने स्पष्ट पारेका हुन्।
बैठकमा सचिव उपाध्यायले विभिन्न सरकार निकायबीच समन्वयको अभावमा भौतिक संरचना भत्काए पनि समयमै मर्मत गर्न चासो नदेखाउँदा सबैभन्दा बढी खानेपानीको पाइप नष्ट भएको जानकारी पनि गराए। उनले प्राधिकरण र महानगरपालिकाले बाटो बिस्तारका क्रममा नष्ट भएको पाइपलाइन आफैं ममर्त गरिदिनुपर्ने प्रस्ताव पनि अघि सारेका थिए।
यता सडक विभागले भने आफूहरुसँग पर्याप्त बजेट नभएको उल्लेख गर्दै खानेपानीको पाईप विस्तारका लागि बजेट उपलब्ध गराउन नसकिने जनाएको छ।