सरकारले स्थानीय निर्वाचनको आवश्यक तयार गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनका सबै कानुनहरू पारित भइसकेको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिने भएको हो।
२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।
आजको बैठकमा सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गर्ने निर्णय समेत गरेको छ। यसैबीच
बैठकले स्थानीय निर्वाचनको वातावरण बनाउन सबै दलहरुसँग वार्ता गर्ने निर्णयसमेत गरेको छ ।
स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् । सो समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तोकिएका छन् ।
समितिलाई दुई साताभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको छ।
साथै, बैठकले चीनको गोन्जाओको महाबाणिज्य दूतमा सहसचिव रवी भट्टराइलाई पठाउने निर्णय गरेको छ । बैठकले शिशिरकुमार ढुंगानालाई सचिवमा बढूवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।