संसदमा विचाराधीन राजनीतिक दल सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय दलको मान्यता पाउनको थ्रेसहोल्ड राख्न लागिएकोमा साना दललहरुले त्यसको बिरोध गरेका छन्।
व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै साना दलका सांसदहरुले थ्रेसहोल्ड राख्नु संविधान विपरित र लोकतन्त्रको पनि बिपरित हुने दाबा गरे।
उनीहरुले ठूला दलका कारणले नै मुलुकमा अन्यौलता बढेको भन्दै मुलुकका लागि ठूला दलभन्दा साना दलको जरूरी रहेको बताए। बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीकी अनुराधा थापा मगरले ठूला दल राष्ट्रियताको सवालमा भन्दा पनि थ्रेसहोल्ड राख्नमा केन्द्रीत रहेको आरोप लगाइन्। उनले संविधानमै नभएको प्राबधानलाई निर्वाचन कानुनमा राख्न लागिएको समेत बताइन्।
‘ठूला दल मुलुकको सीमाना मिचिदा बोल्दैनन्, तर साना दलको अस्थित्व समाप्त पार्न मिल्छन्,’ उनले भनिन्, ‘थ्रेसहोल्ड राखेर लोकतन्त्रको घाँटी निमोठ्न खोजिएको छ। त्यो हामीलाई स्वीकार्य हुँदैन।’
तराई मधेश सद्भावना पार्टीका महिन्द्र राय यादवले थ्रेसहोल्ड जस्तो राष्ट्रिय चासोको विषयमा छलफल नगरी जबर्जस्ती ३ प्रतिशत राख्न खोजिएको भन्दै आपत्ति जनाए। उनले थ्रेसहोल्ड राख्नु अघि गम्भीर रुपमा छलफल हुनुपर्ने बताए ।
थरूहट पार्टीकी रुक्मिणी चौधरीले थ्रेसहोल्ड संविधान विपरित र लोकतन्त्र विपरित रहेको बताइन्। ‘संविधानमा थ्रेसहोल्ड कहाँ छ ? कांग्रेस, एमाले, माओवादीका लागि साना दल घाँडो भएको हो?’ उनले प्रश्न गरिन्, ‘थ्रेसहोल्ड राख्ने हो भने ३ र ५ प्रतिशत किन? ७० देखि १०० प्रतिशत थ्रेसहोल्ड राख्नुहोस्।’
साना दलहरू उदाउँदो रहेको ठूला दलहरू ओरालो लाग्दो अवस्थामा रहेका भन्दै उनले साना दललाई कम्जोर नसम्झिन चेतावनीसमेत दिइन्। पच्चीस साना दलले तीन दलका शीर्ष नेतालाई भेटेर असहमति जनाइसकेको भए पनि यसलाई बेवास्ता गरेको बताइन्।
राजनीतिक दल सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा विचाराधिन रहेको छ। राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने प्रावधानमा साना दलहरुले बिरोध गरेपछि समितिले निर्णय गर्न सकेको छैन। प्रमुख दलहरुबिच तीन प्रतिशत थ्रेसहोल्ड राख्ने अनौपचारिक सहमति भए पनि साना दलको दबाबकै कारण सहमति हुन सकेको छैन।