जलविद्युतको राजधानी भनेर चर्चा कमाउँदै आइरहेको दोलखामा २ सय २० किलोमिटर प्रशारण लाइन निर्माण सम्पन्न भएको छ। २०६३ सालदेखि निर्माण सुरू भएको प्रशारण लाइन करिब २ अर्बको लागतमा निर्माण सम्पन्न भएको हो।
३३ केभीदेखि ४ सय केभी क्षमताको प्रसारण लाइन दोलखामा निर्माण भएको यो प्रशारण लाइनबाट २५ मेगावाट विजुली अहिले पनि राजधानी आइरहेको छ।
विद्युत विकास विभागले निर्माण लाइसेन्स प्रदान गरेको ४ ओटा प्रसारण लाइन योजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरिरहेको २२०/१३२ केभी क्षमताको ४७ किलोमिटर लामो प्रसारण लाइनको निर्माण सकिएको हो।
अब भारतको बाटो भएर काठमाडौं ल्याउन दोस्रो विकल्पको रूपमा यो प्रशारण लाइनलाई लिन सकिन्छ। अहिले भारतबाट आयात गरिएको २५ मेगावाट बिजुली ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौँ आइरहेको छ। अब दोस्रो विकल्पको रूपमा सबैभन्दा ठूलो प्रशारण लाइन तयार भएको हो।
नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन भएको छ। विहीवार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका हुन्।
प्रसारण लाईनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताए।
विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको उनको धारणा छ। “विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थीरताको आधार हो।” प्रधानमन्त्रीले भने “भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला।”
विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गरे। नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने
ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा ऊर्जा मन्त्री जनार्धन शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ लगायतको उपस्थिति थियो।
जनकपुरको ढल्केबरदेखि दोलखाको खिम्तिसम्म ७४ किलोमिटर प्रसारण लाईनको सिङगल सर्किटको निर्माण सम्पन्न भएपछि यसको उद्घाटन गरिएको हो। २०६३ सालमा थालनी भएको खिम्ति–ढल्केबर प्रसारण लाईनको सिङगल सर्किट २०७३ माघमा सम्पन्न भएको हो।
सर्वेक्षणदेखि हालसम्म १७ वर्ष लागेको छ। जग्गा अधिग्रहणमा स्थानीयको अवरोध र रुख कटानमा देखिएका विविध समस्याका कारण प्रसारण लाईन निर्माणमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। तीन वटा ठेकेदार कम्पनीले जिम्मा लिएको यस प्रसारण लाईन निर्माणमा १ अर्ब ९५ करोड खर्च भएको छ। खिम्ति–ढल्केबर प्रसारण लाईनको कुल क्षमता ७०० मेगावाट रहेको छ। एक सर्किटमा ३५० केभी पावर प्रसारण गर्न मिल्छ।
खिम्ति–ढल्केवर प्रसारण लाईन सम्पन्न भएपछि काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण सहयोग पुग्नेछ। यस्तै बिरगञ्ज क्षेत्रमा देखिएको अस्थीर भोल्टेजको समस्या समाधान हुनेछ। यस प्रसारण आयोजनाले बिद्युतको माध्यमबाट तराई र पहाड जोड्ने काम गरेकोछ। साथै यसले नेपाल र भारतबीच विद्युतको आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यस प्रसारण लाईनले तामाकोशशी करिडोरमा पिपिए भएका १८०० मेगावाट बराबरका जलविद्युत आयोजनाहरुको पावर फ्लो गर्न सहयोग पुग्नेछ।
यस्तै यसले रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र ओखलढुंगामा बन्ने जलविद्युत आयोजनाहरुको पावर प्रसारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। यस प्रसारण लाईन आयोजनाबाट १० मेगावाटसम्म विद्युत चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ। प्रसारण लाईन निर्माणको क्रममा २५ हजार रुख कटान गरिएको थियो भने ६ लाख २५ हजार बिरुवा रोपिएका छन्। यस्तै १०२ रोपनी जग्गा अधिग्रहरण गरिएको छ।