संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समिति सदस्यले वर्तमान असन्तुलित र कमजोर कुटनीतिका कारण चीन नेपालसँग सशंकित भएर टाढिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा प्रश्न गरेका थिए ।
सरकार भारतसँग राष्ट्रिय हितका मुद्दामा लम्पसार परेको तर अर्को छिमेकी चीनसँगको द्विपक्षीय सम्बन्धलाई बेवास्ता गरेको कुटनीतिक वृत्तमा टिप्पणी भइरहेका बेला समिति सदस्यले सरकारको छिमेकी राष्ट्रसँगको सम्बन्धबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘सरकारको असन्तुलित कुटनीतिबाट चीन अहिले नेपालसँग सशंकित भएर रिसाएको कुटनीतिज्ञहरुले बताइरहेका छन्,’ सांसद श्याम श्रेष्ठले भने ।
उनले चीनसँग पूर्ववर्ती सरकारका पालामा भएका सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको बताए।
बैठकमा सत्ताधारी गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद बलबहादुर केसीले यतिबेला भारत र चीन दुवै छिमेकीसँग नेपालको कुटनीतिक सम्बन्ध बिग्रेको बताए ।