त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाको विर्तामोडमा मंगलबार सम्पन्न क्वार्टरफाइनलमा विभागीय टिम आर्मीले रूपन्देही–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो।
गोलरहित बराबरीमा सकिएको पहिलो हाप पछि मैदानमा आक्रामक बनेको आर्मीले दोस्रो हाफको १५औँ मिनेटमा पहिलो गोल गर्यो । आर्मीका विमल पाण्डेको पासमा नवयुग श्रेष्ठले शानदार गोल गरे। दोस्रो गोल कप्तान भरत खवासले गरे। दोस्रो हाफको २८औं मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई भरतले जाली चुमाउँदै २–० को जीत सुनिश्चित गरे।
राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब खेलको सुरुवातदेखि नै आक्रमक देखियो । तर, उसले गोल गर्ने दर्जनौँ अवसर भने गुमाएको थियो । यद्दपि, खेल अवधिभर आर्मीले गोल आफ्नो पकडमा राखेर रुपन्देहि ११ लाई निरन्तर दवावमा राख्यो ।
दोस्रो गोल गरेका आर्मीका कप्तान भरत खवासले पहिलो र दोस्रो हाफमा गोल गर्नपाएको थुप्रै अवसर गुमाए। २६औँ मिनेटमा आर्मीका टङ्क बस्नेतले एक्लै बल अगाडि बढाए पनि गोल गर्नबाट चुके। रुपन्देहीका गोलरक्षकले बस्नेतले प्रहार गरेको बल सुन्दर बचाउ गर्दे उनको प्रयास विफल पारे।
खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए। उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो।
त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक दीपक श्रेष्ठलाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान गरियो।
बुधबारको खेल आयोजक झापा–११ सुदूरपश्चिम फुटबल क्लबबीच हुने प्रचार समितिका संयोजक गजेन्द्र पौडेलले जानकारी दिए। यस अघिको उद्धघाटन खेलमा आयोजक झापा ११ ले भारतको शेर क्लवलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै अघिल्लो क्वार्टरफाइनलमा प्रवेश गरेको हो।