फाइल फोटो
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले माथिल्लोहिटीमा निर्माण भएको प्राचीन ढुङ्गेधारा, सांस्कृतिक भवन र अत्याधुनिक पौडी पोखरीको आज उद्घाटन गरे।
एकीकृत विकास कार्यक्रमअन्तर्गत परम्परा र संस्कृतिको जगेर्ना गर्न पानी संरक्षण, सञ्चिति र बालबालिकाको सुविधाका लागि पौडी पोखरी निर्माण भएको हो।
भूकम्पपछि जिल्लाका धेरै गाउँ विकास समितिमा पानीको हाहाकार भएको अवस्थामा स्थानीय पानीको मुहान संरक्षण गरी त्यहाँको पानी ट्याङ्कीमा सङ्कलन गरेर आवश्यकता अनुसार तीनवटा ढुङ्गेधारा मार्फत प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसका लागि १२ र २२ हजार लिटर क्षमताका दुईवटा पानीट्याङ्की निर्माण गरिएका छन्। देव तथा पितृ कार्यका लागि प्रयोग गर्न बनाइएको सांस्कृतिक भवन दुई तलाको छ।
यस्तै, आधुनिक पौडी पोखरीमा एकैपटक ३० जना बालबालिकाले पौडी खेल्न सक्नेछन्।
ढुङ्गेधारा र पौडीपोखरीबाट निकास हुने पानीबाट यस क्षेत्रका किसानले आफ्नो करेसाबारीमा सिँचाइ हुने व्यवस्था मिलाइएको छ। सो परियोजनाको निर्माण लागत रु ४४ लाख ८२ हजार रहेको निर्माण समितिका अध्यक्ष भक्तबहादुर बस्नेतले जानकारी दिए।
कार्यक्रममा सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र– १ अन्तर्गत अरु चारवटा गाविसमा पनि यस्तै नमुना एकीकृत विकास कार्यक्रम निर्माणको चरणमा रहेको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले सिन्धुपाल्चोकको यो नमुना कार्यक्रम अरु जिल्लाका लागि पनि नमुना बन्ने बताए। रासस