खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन्।
नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ। दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ। विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ।
हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी छन्।
दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताए। गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी सङ्ख्यामा न्यून आएको प्रअ आलेले बताए।
गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताइन्। “१० बजे विद्यालय पुग्यो, विद्यार्थी पढ्न आउँलान् भनेको गाग्री बोकेर पानी खोज्न जान्छन्”– “पानीको जोहो नगर भनौँ त गाउँभरि नै हाहाकार छ, अर्कोतिर विद्यार्थीको भविष्य अन्धकारमय बन्यो, न्यून विद्यार्थी सङ्ख्या भएको कक्षाकोठामा बसेर पढाउनुको सट्टा समय बिताउन पनि गाह्रो भएपछि जागिर नै छाडिदिएको हुँ” उनले भनिन्।
विद्यालय स्थापना भएको २७ वर्ष बिते पनि शैक्षिक गुणस्तर वृद्धि र भौतिक सेवा सुविधामा विद्यालयले कुनै फड्को मार्न नसकेको स्थानीय सूर्यप्रसाद रेग्मीले बताए। पानीको अभावले बस्ती नै पातलिँदै गएपछि यहाँको शैक्षिक गुणस्तर विकास हुन नसकेको स्थानीय बताउँछन् । पानीको चरम अभाव अर्कोतिर विद्यालयको स्तरोन्नति हुन नसक्नु, बिजुली, सडकको समस्याले पनि विद्यार्थी सङ्ख्या पातलिँदै गएको हो । रासस