साहसिक काम गर्नेहरुको जीवनकथा छापिनेक्रम सुरु भएको छ। यहि सिलसिलामा साहसिक गाइड सुनारबहादुर गुरुङको आत्मकथा ‘हिमालको गोठालो’ बजारमा आएको छ।
गुरुङ अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक बन्ने पहिलो नेपाली हुन्। फ्रान्सको नेशनल स्कुल अफ स्की एन्ड माउन्टेनियरिङ (एन्सा) बाट सन् २००८ मा अन्तराष्ट्रिय माउन्टेन गाइड उर्तिण गरेका हुन्। उनी स्वदेश र बिदेशमा पर्वतारोहण सिकाउँदै आएका छन्।
उत्तरी गोरखाको लाप्राकमा जन्मे÷हुर्केका उनी १३ वर्षको उमेरदेखि गोठालो बने। बीस वर्षसम्म लेकको गोठमै बास भयो। बीस वर्षको उमेरमा पर्यटकका भारि बोकेर धौलागिरी यात्रामा निस्केका सुनारबहादुर ४६ वर्षका भए। यो उमेरसम्म आइपुग्दा उनले धेरै हण्डर खाएका छन्। तर, मिहिनेत र धैर्यका खुट्किला चढ्दै प्रगती चुम्न सफल बनेका छन्।
अचेल वर्षमा पाँच महिना फ्रान्स, स्वीजरल्याण्ड र इटालीतिर ‘माउन्टेन गाइड’ बनेर डुल्छन्। बाँकी समय नेपालका हिमालतिर पर्यटक डुलाउन र पर्वतारोण सिकाउन व्यस्त हुन्छन्। उनी ‘त्रिनेत्र एडभेन्चर प्रालि’ मार्फत नेपालमा पर्यटक भिœयाउँछन्।
यी साहसिक नायकको विषयमा फ्रान्सेली पत्रकार लरेन्स फलोरीले सन् २०१५ मा ५२ मिनेटको बृत्तचित्र ‘गीत आ टुट् फ्रि’ बनाएकि थिइन्। नेपाल, स्वीजरल्याण्ड, फ्रान्स र स्पेनमा शुटिङ गरेर बनाएको बृत्तचित्रमा एउटा मान्छे कसरी गोठालोदेखि अन्तराष्ट्रिय माउन्टेन गाइडसम्म बन्यो भन्ने देखाइएको छ।
साथीसंगीले जीवनकथा लेख्न प्रेरित गरेकाले पुस्तक लेखेको उनले बताए। उनको लेखाइमा निबन्धकार युवराज नयाँघरेले सम्पादन गरेका छन्। ‘हिमालको गोठालो’ हिमाली जीवन बुझ्ने आँखिझ्याल बनेको छ।
गुरुङको जीवनकथा कष्टकर छ। उनी भरिया बनेर डोल्पा, अन्नपूर्ण सर्किट, गणेश हिमाल, चोयु, लाङटाङ र सगरमाथा क्षेत्र घुमे। सन् १९९२ मा मनास्लु जाँदा फ्रान्सेली नागरिक मिसेल र श्रीमति ज्याकलिनसँग दोस्ती भयो। पदयात्रामा गुन लगाएस्वरुप तिनले उनलाई छोरा झैं व्यवहार गरे। तिनैले फ्रान्स बोलाएपछि उनले त्यहाँ पर्वतारोहण सिके। र, राम्रा गाइड बने।
सुनार ट्रष्टले प्रकाशन गरेको ‘हिमालको गोठालो’ पुस्तकको मुल्य ५ सय रुपैयाँ राखिएको छ।