अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नासाथ डोनाल्ड ट्रम्पले आफ्ना सबै विदेशी राजदूतहरुलाई पदमुक्त गरेका छन्। ट्रम्पले बाराक ओबामाले नियुक्त गरेका सबै राजदूतहरुलाई २० जनवरीको १२ बजे सम्ममा कार्यालय छाडिसक्नुपर्ने आदेश दिएका थिए।
यसमा सिंगापुरका लागि अमेरिकी राजदूत किर्क वागर पनि पदमुक्त हुनबाट अलग रहेनन्। तर, उनले पदमुक्त हुँदै गर्दा गरेको कामले भने उनलाई अलग बनाएको छ। पदमुक्त भएर कार्यालयबाट चांगी एयरपोर्टका लागि निस्कदाँ उनले 'ओबामा' लेखेको टि–सर्ट लगाएर पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाप्रतिको समर्थन व्यक्त गरेका छन्। उनले याे टि-सर्ट लगाएर विदाइमा सहभागी भएका तस्विरहरू सिंगापुरका लागि अमेरिकी दूतावासको अाधिकारीक फेसबुक पेजले पोस्ट गरेको छ।
शपथ ग्रहणका दिन वागरसहित ८० जनालाई ट्रम्पले पदमुक्त गरेका थिए। वागर सन् २०१३ मा नियुक्त भएका थिए। उनले ओबामालाई राष्ट्रपति निर्वाचनमा जिताउन फ्लोरिडाबाट मदत गरेका थिए।