कानको जालीमा साढे चार रेक्टरको भुइँचालोे जाने गरी एम्बुलेन्सको ‘साइरन’ बिना अनुमती फुत्त भित्र पस्यो। काँचको होचो गीलासमा आधा जीवन गुमाएको ‘भोड्का’ एकै सासले घुट्क्याएर ऊ बाहिर निस्कियो।
संसारमा कतिपय त्यस्ता कुरा हुन्छन्, जो मान्छेले भोग्न त के, सुन्नसमेत चाहँदैन। तर पनि भोगाइबाट ऊ अलग रहन सक्दैन। मृत्युजस्तै संसारमा कसैले पनि सुन्न नचाहने तर सुन्नै पर्छ एम्बुलेन्सको आवाज। यही आवाजले उसको मुटुमा पनि आधा रेक्टर जतिको मात्रै भुइँचालो ल्यायो। त्यही भएर अहिले सम्म बाँचेको छ।
ठ्याक्कै एक वर्ष भएको छ, उसले नयाँ कोठा नबदलेको। उसलाई मनबाट चिन्नेहरु भन्छन्, ‘यसलाई आठौँ आश्चर्य मान्दा हुन्छ।’ घोराही बजारका अधिकांश गल्लीका कथाहरु उसले भाडावाल वनेर निःशुल्क भोग्न पाएको छ। आजभोलि तिनै कथा लेखेर उसले रुस्लानको प्याकको जोहो गर्ने गरेको छ। कोठा बदल्ने उसको बानी देखेर कतिपय साथी खिसी पनि गर्छन्, ‘केटीहरुको लिपिस्टिकको रङभन्दा यसको कोठा छिटो बदलिन्छ।’
उसलाई कसैको पर्वाह छैन। बा, आमा, दाजु, दिदी, प्रेमिका। आफ्नो पनि। पोहोर साल बा मर्दा घोराहीको एक मदिरालयमा भन्दै थियो, ‘मलाई संसारमा सम्बन्धदेखि साह्रै डर लाग्छ।’ म सम्बन्धबाट सधैं टाढा हुन चाहन्छु, किनकि सम्बन्धले रहरहरु सबै खोसेर लैजान्छ।’
लेखक कुमार नगरकोटीका किताबका अक्षरहरु भित्र जीवन रुपान्तरण गर्न उसलाई औधी मजा आउँछ। नगरकोटी दाङ आएको बेला भन्दै थियो, ‘अरुले तपाईंका रचना पढ्छन् होला तर मैले भोग्छु पनि।’
कसैको परवाह पनि नगर्ने मान्छे एम्बुलेन्सको आवाजसँगै हतास हुने अनि पछिल्लो एक वर्षमा कोठा पनि नछाड्ने। हो, रहस्यको डोरी यहीँनिर जोडिएको छ।
अनुहारमा सुन्दरता बोकेर जन्मिनु उसको कुनै पनि देन होइन, बाबुआमाको हो। वैज्ञानिकहरु त्यसलाई वंशाणुगत गुण भन्छन्। तर त्यही सुन्दरताको उपयोग गर्न उसले सिकेको सबैभन्दा सुन्दर कला हो। सुन्दरताले जीवनमा के–के काम गर्छ? उसका लागि भने युवती कहिल्यै खाली हुँदैनन्। कुनै युवतीलाई प्रेमको जालमा पार्न उसले कहिल्यै चिठी लेखेन। चिठी लेख्नेको प्रेममा पनि परेन। ‘मनको भाव अक्षरमा पोख्नेहरु ढोँगी हुन्छन्, प्रेम त वतासजस्तै हुनुपर्छ,’ उसको आदर्श यस्तो थियो, ‘चलेको थाहै नहोस् तर मिठो शीतलता देओस्।’
संसारमा सबैभन्दा शक्तिशाली प्रेमपत्र उसलाई मुस्कान जस्तो लाग्छ। ओठमा दौडिने मुस्कान नै उसको प्रेमको सबैभन्दा बलियो हतियार हो। ‘यसलाई त केटीले आफैँ प्रपोज गर्छन् यार,’ केटाहरु थुक निल्ने गतिलो बहाना बनाउने गर्छन। तर टाउकै फोडे पनि के हुने हो र?
अस्ति स्ट्याटस लेखेको थियो फेसबुकमा–तिमीजस्तै पछ्याउनेहरु धेरै भए जीवनमा आउ, यो अनुहारमा एसिड छ्यापिदेउ, म तिम्रो मात्रै हुन चाहन्छु।’
नशामा चुर भएका बेला कोठाको साँचो हराएर बेहोसीमै ढोका दाउरा बाल्न लायक हुने गरि फोडेपछि उसको भरतपुरको घरवेटीसँग अन्तिम पटक सम्बन्धविच्छेद भएको हो। क्षतिपुर्ति र घरभाडा एकैपटक तिर्नुपर्दा आफ्नो पाँचौँ प्रेमिकाले दिएको ‘एप्पल’ मोबाइल ‘कलर्स’ को रेटमा बेचेको थियो। ‘सायद नर्क घरवेटीहरुकै लागि बनेको हो,’ मदिराको मदहोसमा ऊ यस्तै कुरा गर्थ्यो। कोठा भाडामा पैसा तिरेपछि जे पनि गर्न पाउनुपर्छ भन्ने मानसिकता उसले कहिल्यै छाडेन, बरु एक हप्तामै कोठा छाड्यो। कोठा सार्दा–सार्दा हैरान बनेपछि पहिलो पटक दिमाग को बत्ती उज्यालो पारेर उसले आफ्ना लागि केही बुँदा आचारसंहिता बनायोः
क) कोठामा मात्रै रक्सी खाने
ख) लोकल रक्सी खाएको बेला ट्वाइलेटमा पिसाब नफेर्ने
ग) शुद्ध प्लस खाएर थुक्ने छुट्टै भाँडो बनाउने
घ) कुनै पनि साथीलाई कोठामा नल्याउने
ङ) केटीहरुलाई कोठा नदेखाउने
आचारसंहिता बनाएको हप्ता दिनपछि उल्लंघन हुनै आँटेको थियो तर, अचानक त्यो भन्दा बढी टिकाउनका लागि उसलाई अदृश्य शक्ति प्राप्त भयो!
नयाँ घरको नयाँ कोठाको झ्यालबाट अर्को घरको झ्यालमा तरकारी बसाल्दाको मिठो संगीतले उसको पहिलो दिनलाई स्वागत गर्यो। ‘अब त कहिलेकाहीँ नमिठो पाकेको बेलामा मिठो वासनाले गाँस हाल्न सहज पनि हुनेभयो,’ ऊ आनन्दीत भयो। तरकारीको मिठो वासनासँगै यौवनको वासना झनै बलियो बनेर उसको कोठामा पस्न थाल्यो। यौवनको वासनाले तरकारीको वासनालाई के टिक्न देओस्? मौन रहेर झ्यालको सिसा फोडेर उनीहरुको प्रेम एक अर्काको मुटु ठोक्कियो, जसरी सहजै पानीले भिजेको माटोमा ठोकिन्छ किला। ‘युवतीले उसलाई हेरेको एक हप्तामा माया कोरिहाल्छन् नत्र जिन्दगीभरि कोर्दैनन्,’ मिथक थियो उसका लागि।
मनमा प्रेमको धुन बबज्न थालेपछि मान्छेले संसारको कुनै पनि धुन महसुस गर्न सक्दैन। सायद प्रेमको धुन जति सुन्दर धुन संसारमा केही पनि बनेको छैन क्यार! एक साँझ बत्तीको उज्यालोमा पल्लो झ्यालको सुन्दरता नयनपान गर्नका लागि सादा पान चपाउँदै छिट्टै कोठामा के छिरेको थियो, त्यो युवतीभन्दा सुन्दर हस्ताक्षरमा अझ सुन्दर चिठी पो थियो।
‘प्रिय नचिनेरै मनमा पसेको मान्छे,धेरै धेरै माया!
तपाईंले झ्यालबाट मलाई नियाल्न थालेदेखि म तपाईंको मायामा हायल कायल भएकी छु। संसारमा पहिलो प्रेम गर्ने अधिकार मेरो सिन्दुरले छेकेको छ, तथापि म तपाईंलाई प्रेम गर्न थालेकी छु। कानुनी रुपले म अरु कसैकी भएपनि मानसिक र शारिरीक रुपले तपाईंकै लागि जन्मेको मेरो मनमा आभाष परेको छ। संसारमा कुनै काम मान्छेले सोचेभन्दा ढिलो हुन्छ, त्यसका लागि धैर्य गर्नुपर्छ भन्छन् मैले धैर्य गर्न सकिन र तपाईंको हातबाट रातो सिन्दुर मेरो सिउँदोमा भर्न सकिन। तथापि, तपाईंका लागि मेरो जीन्दगी र यौवनको ढोका खुलै पारेकी छु। तपाईंले झ्याल खुलै पारेको मौकालाई सदुपयोग गरेर यो चिठी पठाएकी छु। नराम्रो लागे झ्याल र पर्दा दुवै बन्द गर्नुहोला। म मनले मात्रै तर्पांलाई हेरेर चित्त बुझाउँला।
तपाईंलाई चाहने सम्झना
लोडसेडिङमा पनि उसलाई झड्का लागेको महसुस भयो। चिठीको जवाफ लेख्ने सोच पनि आएन। विवाहित महिलासँग पनि प्रेम? उसले दिमागलाई सही आयतन दिन पनि सकेन। नशामा चुर चुर हुनका लागि अघिल्लो दिन बचेको भोड्काको सिसी पनि उसले रित्याउन आवश्यक ठानेन। आजलाई उसको भोक मार्न र नशामा झुमाउन चिठी नै काफि थियो। अघिदेखि भोकले कोपरिरहेको पेट पनि निको भएर आयो।
तीन दिन वित्दासम्म घटनाले कुनै पनि नयाँ मोड लिएन। उसले झ्याल मात्रै होइन, पर्दा पनि बन्द गर्यो तर चियाउन भने कत्ति पनि छाडेन। चारो टिपेर चराहरु कहिले आउँछन् भनेर गुँडबाट हेरिरहेका बचेराजस्ता उतातिरको झ्याल भने खुलै थियो। चौंथो दिन उसले फोन नम्बर लेखेर फ्याँक्यो। मलाई यसमा फोन गर्नु ९८०६२६७२७८।
आधा घण्टापछि प्रेमको सुरुवात भयो। अन्ततः दुवैतिर सल्किएको प्रेमको आगोले दुवैलाई न्यानो दियो। रित्तो ओछ्यानका एक अर्काको आवाजलाई अँगालो हालेर सुत्ने आदत बस्दै गयो।
ब्याचलर पढ्नका लागि सहर बसेकी सम्झनाका दिनहरु पूर्णतः खालि नै थिए। भूपालको पढाइ सकिए पनि उपयुक्त जागिरको खोजमिा जीवन हिँडाइरहेको थियो। चिठी, नजर र प्रेम साटासाट गर्ने झ्याल तरकारी र भात साटासाट गर्नेसम्मका लागि उपयोगी हुन थाल्यो। यौवन साट्न त कसरी मिल्थ्यो र? कुनै साँझ पनि भूपालले खाना पकाउनै परेन। झ्यालबाट हेराहेर गर्दै खाना खानुको मिठोपन उसले नजिकबाट अनुभव गर्यो।
प्रेम साटासाटसम्म मात्र नरहेर झ्यालको प्रेमको परिधी यौवन साटासाटसम्म विस्तार भयो। दिउँसोको समय खालि हुने र दुवै वेरोजगार। प्रेमका सारा परिभाषाहरु तोडेर प्रेम गर्न थाले एक–अर्कालाई। प्रेममा यौवनको मिठो वासना मगमगाउन थाल्यो। संसारमा सबैभन्दा सुन्दर वासना यौवनको हुन्छ क्यार! उनीहरुले फुलको वासना भुले। आफैंलाई भुले। सिन्दुरको रेखा भुले। लुकेर हेर्ने समाजको आँखा भुले।
प्रेमको संसारमा कावा खाँदै गर्दा समयले एक–अर्काको पर्याय बनाइसकेछ। सिउँदोको सिन्दुर अरुको नामको भए पनि जीवन र यौवन भने उनीहरुले एक–अर्काका लागि साँचेका थिए। एक विहान सुर्य उस्तै गरि उदायो। वतास उही शीतलता दिएर दौडियो। अनि समय उही गति लिएर घस्रियो। तर प्रेमको नदि उल्टो बग्यो।
‘भूपाल म त प्र्रेग्नेन्ट भएँ,’ सम्झनाको आवाज उसको कान पुरै भासिने गरि १२ रेक्टरको भुइँचालो जसरी पस्यो।
‘अब के गर्ने? फालौं न है,’ भयकै बीचमा उसले चलनचल्तिको निकास निकाल्यो।
‘हुँदैन म यसलाई हुर्काउँछु, ‘तर ... कुन परिचय दिएर?’ भूपालको अनुहारमा भयको छायाँ झन् जवान हुँदै आयो। जीवनमा कतिबेला कुन परिवेशले मान्छेलाई थिचेर लैजान्छ। यही रहस्यमा त छ संसार।
‘अस्ति एक महिनाअघि बुढा विदेशबाट विदामा आएको वेला रह्यो भन्दिन्छु। अब उनी गएपछि बाहिर सरेको कुरा भनेको छैन। उनकै नासो भनौंला नि,’ सम्झनाले बदाम फोकेर खाए जस्तो सजिलो बाटो देखाई।
भोलिको भयानक पल सम्झेर भूपाल डरले पानी–पानी भयो। सम्झनाको समाधान उसका लागि अस्थायी साधन जस्तो लाग्यो। ‘सम्झनाको कुरा उसको परिवारले पत्याएनन भने,’ यहि भयले उसको निद्रा र भोक एक साताका लागि चोरेर लग्यो। समयको धारले फेरि उसलाई पुरानै बाटोमा ल्यायो।
सम्झनाको पेट बढ्दै गएको एकदिन उसले बेस्मारी सुम्सुम्यायो। आफ्नो रगतको माया लाग्दो रहेछ। ‘सम्झना तिम्रो पेट जति बढ्दै छ, उति आनन्द आउँछ मलाई। यो समाजले थाहा नपाए पनि, म विवाहित नभए पनि बाबु बन्दैछु,’ सम्झनाले बेलुनझैं फुलेको पेटमा टाउको अड्याएको भूपाललाई सजग बनाउँदै भन्थी, ‘समाजका लागि सबै कुरा बिर्सनुस्, यस्तो भावनात्मक कुरा गरेर मलाई पनि भावनामा बग्ने नबनाउनुस् फेरि जीवन जाकिएला नि।’
‘के मैले मेरो रगतलाई मेरो भन्न पाउँदिनँ?’ भूपालको आँखाबाट आँसु निस्कन आँट्यो।
‘मनले आफ्नो भनौंला नि,’ सम्झनाले सहजै टारिदिई।
समय घरक्क घर्किंदै थियो, सम्झना आमा बन्दैथिई तर भूपाल बाबु बन्दै थिएन।
भूपालले देख्यो, एम्बुलेन्सको आवाज मधुरो हुँदै गइरहेको थियो। मान्छेहरु गाइँगुइँ गरिरहेका थिए, ‘बच्चालाई अप्ठ्यारो छ अरे, टाढै लैजानुपर्ने भएछ।’
संसारमा त्यो बाबु अभागी हो, जसले आफ्नै सन्तानलाई ‘छोरा’ सम्बोधन गरेर बोलाउन सक्दैन। उसको आफ्नै रगत समाजका सामु अवैधानिक थियो। भीडबाट नियाल्यो, सम्झनाका आँखा आँसुले टम्म भएका थिए, उसले सोध्ने बाटो पनि भेट्टाएन। सबैले देख्ने गरी रुने अधिकार पनि थिएन। भोड्काको बोत्तल रित्तिँदै गयो, तर पनि किन–किन उसलाई बेहोसीमा लैजान सकेन।
पीडा भुलाउँदै मदिरामा लठ्ठिँदै गर्दा कतिबेला आँखा लोलाए थाहै भएन।
सधैं मोबाइलको अलार्मले उठाउने उसलाई आज भने म्यासेजको टोनले उठायो। आँखा खोल्नासाथ जुन उत्सुकता थियो उसको आँखामा त्यहि उत्सुकता सम्बोधन गर्ने म्यासेज थियो, ‘बधाई छ बाबु बनेकोमा, मेरो छोरा जन्मियो। सबैले भन्छन्, आफ्नो बाबुजस्तो छ अरे, अपरेसन गरेकाले म नेपालगञ्ज छु। साता दिनमा आउँछु।’
म्यासेजको जवाफ लेख्न उसका हात अगाडि बढ्नै सकेनन्। घरवेटीसँग भाडाको हिसाब–किताब गर्यो। एकैछिनमा रिक्सामा सामान अड्याएर नयाँ गन्तव्यमा हिँड्यो।