मेरी प्रियसीका आँखा घामजस्ता
छँदै छैनन्
न त उनको ओठको लाली
सिपीको जस्तो रातो छ
हिउँलाई सेतो मान्ने हो भने उनका
स्तन त श्यामल छन्
अनि उनको शिरमा सुनका रेशा
होइन काला तार उम्रेका छन्
मैले सेता, राता बुट्टेदार
गुलाफहरू देखेको छु
तर त्यस्ता कुनै पनि गुलाफ
आजसम्म उनको गालामा
फक्रेको थाहा छैन
कतिपय अत्तरमा कस्तो
मनमोहक सुगन्ध हुन्छ
तर उनको श्वास त ठुस्स
गन्हाउँछ
मलाई उनको बोली मन पर्छ
तर मलाई राम्रोसँग थाहा छ
संगीत त यो भन्दा कहाँ हो कहाँ
कर्णप्रिय हुन्छ
मैले कहिल्यै कुनै देवीदेउतालाई
बाटोमा हिँडेको देखेको छैन
मेरी प्रियसी त भूइँमा टेकेर
ठमठम हिँड्छिन्
तर पनि भगवान कस्सम मलाई
मेरी प्रियसी अलौकिक लाग्छिन्
झुठा बिम्बहरूले फुर्क्याइएका
उनीजस्ता अरू कोही भन्दा!!
सोनेट:
सोनेट अंग्रेजी पद्यको एउटा पसिद्ध विधा हो, जसरी नेपालीमा छन्दको कुरा आउँछ त्यसरी नै अंग्रेजीमा पनि 'फर्म'को कुरा गरिन्छ। सेक्सपियरको सोनेट पनि एउटा छन्द हो, जसको सुरुवात इटलीबाट भएको हो। अंग्रेजी वर्णमा 'Sonnet' लेखिने यसको अर्थ लयात्मक गीति कविता भन्ने हुन्छ। यसको संरचना गजलभन्दा पृथक छ। यसको इतिहास निकै पुरानो भए पनि १७ औं शताब्दीमा संयुक्त अधिराज्यमा यो विधा निकै फष्टाएको थियो। जोन मिल्टन, विलीयम शेक्सपीयरजस्ता मुर्धन्य अंग्रेजी कविहरुका सोनेट निकै पशिद्ध र लोकप्रिय छन्।
यसका विशेषताका कुरा गर्दा- यो १४ लाइनको हुन्छ। ४/४ लाइनको ३ अनुच्छेद र २ लाइनको सन्देश वा सारांश हुन्छ। प्रत्येक लाइनहरुमा पहिलोको तेश्रो र दोश्रोको चौंथौ लाइनसँग अनुप्रास मिल्नुपर्छ। अनुच्छेदमा अनुप्रास मिल्ने शब्दको स्वर अ, इ, ए, ओ एकै हुनुहुँदैन पनि भनिन् । अन्तिम २ लाइनमध्ये पहिलो र दोस्रो लाइनको अनुप्रास एकै स्वर वणर्मा स्वतन्त्र हुन्छ।
शेक्सपियरको परिचय
अंग्रेजी साहित्यका अति गौरव र विश्वसाहित्यका दुर्लभ प्रतिभा मानिने यी मूर्धन्य नाटककार एवं कवि विलीयम शेक्सपियर ई.सं. १५६४ अप्रिल २३ का दिन बेलायतको एउटा सानो सहर स्ट्रारफोर्ड–अपन–एवं भन्ने ठाउँमा जन्मेका हुन्। उनका बाबु सामान्य परिवारका थिए भने आमाचाहिँ हुनेखाने परिवारकी। त्यही सहरकै ग्रामर स्कुलमा शेक्सपियरले शिक्षा हासिल गरे। आफूभन्दा केही वर्ष जेठी उमेरकी ऐनीसँग विवाह गरी रोजगारीको खोजीमा लण्डन सहर पसे। सहकर्मीहरुसँग मिलेर एउटा थिएटर बनाए जुन पछि गएर ग्लोब थिएटरको रुपमा प्रसिद्ध भयो। त्यहाँको नृत्य–नाटक मण्डलीसँग आबद्ध भएर २० वर्षभन्दा बढी समयसम्म अभिनेता र लेखक बनी सक्रिय रहे। पछि आर्थिक अवस्था सुध्रिएपछि आफ्नै गाउँ फर्के। बेलायतकी महारानी एलिजावेथ प्रथमको समय ‘एलिजावेथन पिरियड’मा उनको प्रभाव र उचाइले गर्दा त्यो युगलाई नै ‘शेक्सपियर युग’ भनियो। लण्डन बसाइमा शेक्सपियरले १५४ वटा सोनेट (चतुष्पदी कविता), सामाजिक, रोमान्टिक, वियोगान्त, संयोगान्त, ऐतिहासिक एवं हास्यप्रधान गरी ३७ वटा नाटक र काव्यहरु सिर्जना गरी अङग्रेजीसाहित्य समृद्ध पार्नमा गहकिलो योगदान गरे। नाटक र काव्यलेखनबाट अपूर्व यश र कृति हासिल गरेका उनको मृत्यु ५२ वर्षको उमेरमा, इ.सं. १६१६ अप्रिल २३ अर्थात् जन्मदिनमा भयो।