फाइल तस्बिर।
पश्चिमी वायुको प्रभावले शुक्रबार देशभरको मौसम चिसो भएको छ। बिहिबार पश्चिम नेपाल हुँदै आएको वायुको प्रभाव उपत्यकासहित शुक्रबार पूर्वी नेपालसम्म पुग्नेछ। ‘आज देशभर पानी पर्छ, उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन्छ’, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले सेतोपाटीसँग भने, ‘भोलि बिहानदेखि भने घाम लाग्न थाल्छ, आज पनि झरी नै पर्ने होइन, ३/४ मिलिमिटरसम्म वर्षा हुन्छ।’ घाम नलाग्ने भएकाले केही दिन यता बढेको न्यानो भने घट्ने पौडेलले बताए। उनले काठमाडौं अासपासमा अग्ला ठाउँमा पनि हिउँ पर्न सक्ने सम्भावना रहेको बताए। देशका पश्चिमी क्षेत्रमा बिहिबार साँझदेखि नै पानी पर्न सुरू भएको थियो।
यो वर्ष माघ १ गते ०.४ डिग्रीसम्म पुगेको काठमाडौंको न्युनतम तापक्रम त्यसपछि निरन्तर बढीरहेको थियो। केही दिनसम्म राजधानीको आकाशमा बादल थिएन। यो साताको सुरुसँगै बादल देखिन थालेको थियो।
बिहिबार मध्यरातबाट बादलले उपत्यकाको आकाश धुम्म भएको छ। पानी परेसँगै केही दिन बिहान काठमाडौंमा अलि बढी चिसो हुने पौडेलले बताए।