भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै पूँजीगत खर्च ९० प्रतिशत पुर्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूँजीगत खर्च वृद्धि गर्ने र राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
बिहीबार काठमाडौंमा संचारकर्मीमाझ कुरा गर्दै उनले मन्त्रालयको चालू आर्थिक वर्षको हालसम्मको खर्च २१ दशमलव ४१ प्रतिशत रहेको र त्यसमा भारी वृद्धि गरी ९० प्रतिशत कटाउने गरी सरकारले काम गरिरहेको जानकारी पनि दिए। उनले सडक निर्माणका लागि ठेक्का बन्दोबस्तीको कामलाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि बताए।
उनले जहाँ सडक, त्यहीँ समृद्धि भन्ने नाराका साथ सरकार काममा जुटेको पनि स्पष्ट पारे। सडक यातायातको विस्तारसँगै आर्थिक गतिविधि बढ्ने र त्यसले मुलुकलाई समृद्ध बनाउने उनको भनाई छ। मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणका लागि विस्तृत अध्ययनको काम सकिएको पनि बताएका छन्। हुलाकी राजमार्ग अन्तरगतको उत्तर दक्षिण सडकखण्ड निर्माणको काम भारत सरकारको सहयोगमा गर्न लागिएको जानकारी उनले दिए।
मन्त्री लेखकले मन्त्रालयले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको बताउँदै रेल ार्ग, हुलाकी राजमार्गलगायतका आयोजनाहरु सम्पन्न गर्न मन्त्रालयले चरणबद्ध रुपमा काम अघि बढाईरहेको उल्लेख गरे।