झापाको दुहागढीस्थित हातेमालो सामुदायिक वन क्षेत्रभित्र रहेको निचाझोडा सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन्।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वनको ३२.२७ हेक्टर सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरु जुटेका हुन्। स्थानीयवासीले सो ठाउँको नाम ‘निचाझोडा सिमसार पर्यटकीय स्थल’ भनी तय गरिसकेका छन् । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगामाछा र ‘झोडा’को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको दुवागढी–२ निवासी परशुराम राजवंशीले बताए।
स्थानीय उपभोक्ताले पाँच लाख रुपैयाँ सङ्कलन गरेर पहिलो चरणको कामसमेत सुरु गरिसकेका छन् जसमा दुहागढी गाविसले पनि स्थानीयवासीको अभियानमा सहकार्य गर्दैै रु दुई लाख सहयोग गरेको छ ।
त्यस्तै, सांसद विकास कोषले रु तीन लाख र निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ सहयोग पाएपछि स्थानीयवासी अझ उत्साहित भएको दुवागढी–९ निवासी प्रकाश उप्रेतीले बताए। सिमसारको पहिलो चरणमा माटो व्यवस्थापनको काम अघि बढाइएको छ । माटोको बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने काम भइरहेको दुहागढी–२ की टीका पौडेलले बताइन्। “पोखरीको काम सकेर वैशाखभित्रमा दुईवटा बोट सञ्चालन गर्ने तयारीमा छौँ,” सिमसार विकासको योजना सुनाउँदै उनले भनिन् – “हामी करिब ४० बिघाको पोखरी बनाउँदै छौँ । सम्भवतः यो पूर्वाञ्चलकै ठूलो हुनेछ ।”
हरियो वनभित्रको निचाझोडामा धार्मिक तथा ऐतिहासिकस्थल पनि रहेका छन् । धिमाल समुदायको धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा त्यहाँ वार्षिक पूजा गर्ने थान रहेको छ । साथै, सो स्थानलाई उनीहरुले आफ्नो राजधानीका रुपमा समेत लिने गरेको निचाझोडा सिमसार पर्यटकीयस्थल निर्माण तथा विकास उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताए। यहाँ राजवंशी समुदायको चैतादेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन तीन सय ९१।२७ हेक्टर क्षेत्रमा फैलिएको छ जसमध्ये ५२।५ हेक्टर सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये ३२.५ हेक्टर सिमसार क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो ।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । यसमा करिब एक हजार घरधुरी आदिवासी, आठ सय बाहुन/क्षेत्री र चार सय दलित, मुस्लिम लगायतका समुदाय रहेका छन् । पर्यटकीयस्थलको निर्माण भएपछि दुवागढी २, ३ र ४ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाविस सचिव कवीन्द्रविक्रम नेम्बाङले बताए। “पर्यटकको आवागमनसँगै स्थानीयवासीको आर्थिक पाटो पनि सुध्रिन्छ,” नेम्बाङले भने – “पर्यकीयस्थलको विकास र प्रवद्र्धनमा सबैले सहयोग गर्नुपर्छ ।”
हाल यहाँ वनभोज खान आन्तरिक पर्यटक आउने गरेका छन् । पानी, बिजुली, बाटो लगायतका पूर्वाधार विकास नहुँदा समस्या भएको दुवागढी–५ का मोहन खतिवडाले बताए। विस्तारै पूर्वाधार विकास गर्दै नमुना पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए। रासस