सरकारले संविधान संशोधन र स्थानीय तहको निर्वाचन सँगै अघि बढाउने प्रस्तावमा मोर्चाले सहमती जनाएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकले दुवै विषयमा सघन छलफल गरेर निचोडमा पुगिने सम्झौता भएको हो।
यसअघि यही माघ ८ गते प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सहित प्रमुख तीन राजनीतिक दलको बैठकमा आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमति भएको थियो ।
बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री दाहालले संविधानमा संशोधनको प्रस्ताव स्थानीय तहको नगरपालिका, गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले इलोक्ट्रल कलेजअन्तर्गत राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने अधिकार हटाउने विषय संसद्मा लैजाने तयारी भएकाले निर्वाचनको मिति घोषणामा सघाउन मोर्चालाई आग्रह गरेको बताए।
उनले संशोधन र निर्वाचनका विषयमा मोर्चासँगको परामर्श र सहमतिका आधारमा मात्र सरकारले निर्णय गर्ने आश्वस्त पारिएको पनि बताए। मन्त्री निधिले स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन परिमार्जनको प्रक्रियाका बारेमा पनि छलफल भएको उल्लेख गरे।
मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखेका कारण अन्योल देखिएको छ भने निर्वाचन गराउन सबै तयार हुँदै गएका छन्।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले पनि निर्वाचन गराउन आफूहरु सकारात्मक भए पनि पहिला संविधान संशोधन टुङ्गो लाग्नुपर्ने तथा त्यसलाई पारित गराउन संसद्मा सङ्ख्या पुर्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने धारणा आफूहरुले राखेको बताए।
बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए। बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनका लागि संसदमा दर्ता गरिएको प्रस्तावलाई सबैको सहमतिमा परिमार्जन गर्न छलफललाई तिब्रता दिने र सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायत सहभागी थिए।