त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा सुन तस्करी हुँदा पनि सरकारले तस्करी नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले विमानस्थल र रसुवागढीलगायतका नाकाबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद हुँदा पनि सरकारले सुन तस्करी नियन्त्रण गर्न नसकेको बताए। उनले विमानस्थल सुन र अवैध लागू औषध तस्करीको अखडा भए पनि सरकारले त्यसलाई रोक्न कुनै चासो देखाएको आरोप पनि लगाए। उनले विमानस्थलबाट सुन र लागू औषधजस्तै अवैध हतियार भित्रने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
संसदको अर्थ समितिका सभापतिसमेत रहेका ज्वालाले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करलाई कारवाही गर्ने प्रतिवद्धता जनाए पनि भरियाहरु मात्र पक्राउ पर्नुले गम्भीर आशंका उत्पन्न भएको टिप्पणी गरे। सांसद ज्वालाले विमानस्थलमा रहेका विभिन्न निकायबीच समन्वयको अभावका कारण दैनिकजसो सुन र लागूऔषधको अवैध ओसारपसार भए पनि सरकारले नियन्त्रण गर्न चासो नदेखाएको भन्दै आपत्तिसमेत जनाए।
बैठकमा नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको विषयमा संसदलाई उपेक्षा गरेर सार्वजनिक भाषण गरेको आरोप लगाए। उनले प्रधानमन्त्री दाहालले नेपालको भूराजनीतिक संवेदनशीलताको विषयमा सार्वजनिक भाषण गरे पनि सदनमा छलफल नगरेर संसदीय उत्तरदायीत्वबाट बिमुख हुन खोजेको टिप्पणी गरे। सांसद राजवंशीले प्रधानमन्त्री दाहालले २०६२/०६३ सालको उपलब्धी गुम्ने खतरा रहेको भन्दै सरकारको मुल दायित्व र कार्यभारलाई विषयान्तर गर्न खोजेको आरोप पनि लगाए। संविधान संसोधन प्रस्ताव संसदमा पेश गरेर प्रधानमन्त्री दाहाल स्वयंले आन्दोलनका उपलब्धीहरु मास्न खोजेको जिकीर पनि गरे।
बैठकमा बोल्ने केही सांसदहरुले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन त्रुटीपूर्ण रहेको भन्दै सच्याउन माग गरे । उनीहरुले आयोगले सिफारिस गरेका आधार इलाका र सेवा केन्द्रहरु आम जनतालाई पायक नपर्ने स्थानमा रहेको भन्दै तत्काल सच्याउनु पर्ने आवश्यक्ता पनि औल्याएका छन्।