अस्ट्रेलियाका पूर्व तीब्र बलर ग्लेन म्याग्राले भारतका ‘मास्टर ब्लास्टर’ ब्याट्सम्यान सचिन तेन्दुलकरमाथि गम्भीर आरोप लगाएका छन्। सचिनले आफूलाई मैदानमा थुप्रै पल्ट ‘स्लेजिङ’ गरेको आरोप उनले लगाएका हुन्।
शनिबार भारतको हिन्दु पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा उनले भने–‘विश्वको सबै टिमका खेलाडी स्लेजिङ गर्छन्। तर, अस्ट्रेलियाले गर्यो भने ठूलै बखेडा हुन्छ। अस्ट्रेलियालाई मात्र गाली गर्दा त्यो भन्दा ठूलो अपमान कुनै हुन सक्दैन्। सचिनले पनि मसँग स्लेजिङ गरेका थिए।’
म्याग्रा र सचिन दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्। १९९० को दशकमा यि दुई खेलाडीबीच मैदानमा ठूलै प्रतिद्धन्द्धीता थियो।
म्याग्राले आफूहरू जस्तै अन्य टिमका खेलाडी पनि स्लेजिङमा उत्रिने गरेको बताए। उनले आफ्नो टिममा पूर्व प्रारम्भिक ब्याट्सम्यान म्याथ्यु हेडनले पनि स्लेजिङ गर्ने गरेको खुलासा गरे। ‘सम्भवत अस्ट्रेलियाबाट सबैभन्दा बढि स्लेजिङ गर्ने खेलाडी हेडन हुन्। तर, गली र स्लिपमा फिल्डिङ गर्ने कारण उनीतर्फ कसैको ध्यान गएन,’ म्याग्राले भने।