१५ औ आहा रारा गोल्डकपमा आयोजक सहारा क्बल र सिक्किम युनाइटेड बल नियन्त्रणमा लिने प्रयासमा। तस्विरः युसुब गुरुङ
पोखरामा जारी १५औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी र धरान फुटबल टिम बिच प्रतिश्पर्धा हुँदैछ। एपिएफलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको धरानले आज सेमिफाइनल प्रवेशको लागि बाइ पाएर सिधै क्वार्टरफाइनलमा आएको मनाङविरूद्ध भिड्ने भएको हो।
यसअघि हिजो शनिबार भएको खेलमा भारतको सिक्किम युनाइटेडलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा प्रबेश गरेको छ।
सहाराले अन्तिम चारको यात्रा तय गर्ने पाहुना टोलीलाई टाइब्रेकरमा ४–२ लाई हराएको हो। सिक्किम यसअघि पहिलो सहभागितामा पनि क्वार्टरफाइनलमा सहारासँगै पराजित भएको थियो ।
निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरबाट खेलको निर्णय भएको थियो । टाइब्रेकरमा साहाराका गोलकिपर सुजित गुरुङले एउटा पेनाल्टी रोके भने अर्को पेनाल्टी सिक्किमका खेलाडीले चुकाएका थिए।
सिक्किमका लागि दोस्रो पेनाल्टी हानेका सोनाम तोप्देनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। आशिष क्षेत्रीको चौथो पेनाल्टीलाई सहाराका गोलकिपर सुजितले रोकेका थिए ।
सहाराका लागि सुसन गुरुङ, शिव सुवेदी, रमेश मगर र कप्तान उत्तम गुरुङले गोल गरेका थिए । सिक्किमका लागि सञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले गोल गरे । त्यसअघि दुवै टोलीले केही मौका पाएका थिए।
सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनल खेल्नेछ।