१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान सशस्त्र प्रहरीको एपीएफ क्लव र रिड मोडल कलेजले संयुक्त रुपमा कब्जा गरेका छन्। शुक्रबार दोहोरो जित निकाल्दै स्वयम्भू ठूलो भर्याङको रिड मोडल कलेजले एपीएफसँग अंक बराबरी गरेको हो।
रिड मोडलले आयोजक ढोरपाटन स्पोर्ट्स क्लव र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्यो। लिगको पुछारमा रहेको आयोजक ढोरपाटनलाई २५–८, २५–१२ र २५–७ ले पाखा लगायो भने पश्चिमाञ्चललाई २५–१४, २५–१२ र २५–८ ले हरायो। दोहोरो जितसँगै रिड मोडलले १३ खेलबाट ३९ अंक जोडेको छ भने एक खेल बढी खेलेको एपीएफ क्लवको पनि ३९ अंक नै छ।
एपीएफले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्यो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमन्डलाई २५–१३, २५–२७, २५–१५ र २५–२१ को सेटमा पराजित गर्यो। एपीएफ १४ खेलबाट ३९ अंक जोड्दा १३ खेल खेलेको न्यु डायमन्ड एकेडेमी ३० अंकका साथ तेस्रो स्थानमा छ।
खेलमा विजय हासिल गर्दै विभागीय टोली नेपाल पुलिस क्लवले चौथो स्थानलाई थप मजबुद बनाएको छ। पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगायो। पुलिस आर्मीविरुद्ध २५–१८, २५–२२ र २५–२० ले विजयी भयो।
पुलिसले १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा रहँदा पश्चिमाञ्चल १४ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ। त्यसैगरी विभागीय टोली आर्मीले १४ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले दोस्रो चरणको कुनै खेलमा सफलता हात पार्न नसक्दा १५ खेलबाट ८ अंकमा सीमित भएको छ।