पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा स्थानीय सर्वसाधारणका घर भत्काएको विरोधमा स्थानीय व्यापारीले दुई दिनदेखि बन्द रहेको स्थानीय हेटौँडाबजार आज बिहानदेखि सञ्चालन भएको छ।
मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भनी सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा गर्नुपर्ने भनी बुधबार सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ वटा भवन भत्काएको थियो।
यसैबीच, सर्वसाधारण नागरिकको घर र जग्गाको उचित मुआब्जा दिएर मात्रै घर भत्काउनुपर्ने भनी मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले क्षेत्रीय सडक डिभिजन कार्यालयलाई माग गरेका छन्।
यसैगरी, क्षेत्रीय सडक कार्यालय, हेटौँडा उपनगरपालिकाअन्र्तगत रहेको स्थानीय रातोमाटेदेखि स्थानीय चौकीटोल र हेटौँडा–नारायणघाट सडकखण्डमा पर्ने करिब दुई हजार आठ सय घरलाई आगामी १५ दिनभित्र नभत्काउने गरी मालसामान सार्न अनुरोध गरी सूचना प्रकाशित गरेको सो कार्यालयले जनाएको छ ।
उक्त सडकखण्डको दुवैतर्फ २५–२५ मिटर छाड्नुपर्ने बाध्यताले गर्दा हजारौँ सर्वसाधारण नागरिक सुकुम्वासी बन्नुपर्ने अवस्था आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले पत्रकारसम्मेलन गरी बताएका छन्। रासस