पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो। अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ। उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उनले जानकारी दिए।
प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ। भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। रासस