म्यानचेस्टर सिटीका मिडफिल्डर याया टाउरेले चिनियाँ क्लबबाट आएको आकर्षक प्रस्तावलाई ठाडै अस्वीकार गरेको समाचार बाहिरिएको छ। ३३ वर्षीय टाउरेका लागि चिनियाँ प्रिमियर लिग क्लबले साताको ४ लाख ३० हजार पाउण्डको महँगो प्रस्ताव राखेको थियो।
उनलाई यो प्रस्ताव गत गर्मीयाममा राखिएको बताइएको छ। उनले त्यतिबेला चिनियाँ क्लबको प्रस्ताव अस्वीकार गरेका थिए। तर, अहिले म्यानचेस्टर सिटीमा आफ्नो भविष्य सुनिश्चित नदेखेपछि पुनः सम्पर्क गर्दा क्लबले त्यति नै रकममा टाउरेलाई भित्र्याउन आफू इच्छुक रहेको सकारात्मक जवाफ दिएको छ। खेलाडी किनबेचको अघिल्लो सत्र ३१ जनवरीमा समाप्त हुँदैछ।
आइभोरी कोस्टका यी मिडफिल्डरको सिटीमा अनुबन्धको समय यसै सिजन समाप्त हुँदैछ। सिजनको सुरुवातमा पेप ग्वार्डिओलाले टिममा स्थान नदिएपछि उनको भविष्य समाप्त भएको आशंका गरिएको थियो। तर, नोभेम्बरमा पुनः टिममा स्थान दिएपछि उनी नियमित छन्। जुन १५ मा इभर्टनबाट ४–० ले पराजित भएको खेलसम्म उनले लगातार सात खेल खेलिसकेका छन्।
टाउरे जनवरी १ देखि विदेशी क्लबसँग सम्झौतामा हस्ताक्षर गर्न स्वतन्त्र छन्। उनको क्लबसँगको सम्झौताको मिति समाप्त भइसकेको छ। तर, पनि इङ्लिस क्लबमा रमाएका कारण उनी इङ्ल्यान्डमा बसेर खेलिरहेका छन्।
ग्वार्डिओलाले यस सिजनको अन्त्यपछि उनलाई क्लबमा यथावत राख्ने कुरामा आश्वासन दिएका छैनन्। टाउरे २०१० मा सिटीमा आवद्ध भएका थिए। जर्मन मिडफिल्डर इल्के गुन्डोगनलाई डिसेम्बर १४ मा वार्टफोर्डविरूद्ध घुँडामा चोट लागेपछि टोलीमा टाउरेको महत्व बढेको थियो।