झापा लखनपुरका सुमो धनी तथा चालक विशाल खड्काको हत्या अभियोगमा रामेछाप प्रहरीले २ जनालाई पक्राउ गरेको छ। तेह्रथुम पौठाक ४ का मनबहादुर लिम्बु र रसुवा सरनथलीकी बिन्दु तामाङलाई पक्राउ गरिएको डिएसपी कुमोद ढुंगेलले जानकारी दिए। रामेछापको मझुवा १ निगलपानीमा उनीहरुले खड्कालाई गोली हानी आगो लगाइ जलाएका थिए। घटनाका मुख्य योजनाकार फरार रहेको र उनको खोजी कार्य भइरहेको डिएसपी ढुंगेलले बताए।
३ जना मिलेर खड्काको सुमो उनीहरुले भाडामा लिएका थिए। सुमो खड्का आफैंले चलाएका थिए। उनीहरुले मंसिर ७ गते सुमो रिजर्भ गरि काठमाण्डौबाट रसुवा गएका थिए। भोलिपल्ट उनीहरु हेटौंडाको बाटो हुदैँ रामेछाप पुगेका थिए। सिन्धुलीको चैनपुर खाल्टमा रहेको होटल सेन्तेरेङ्गमा आई चिया खाजा खाई उानीहरु रामेछापको सित्खा वजार हुदै मझुवा –१ निगालपानी लागेका थिए।
त्यसपछि खड्कालाई ३ राउण्ड गोली हानेका थिए। 'खड्कालाई किन हत्या गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' डिएसपी ढुंगेलले भने, 'अहिलेसम्म प्रशासनलाई चुनौति दिनका लागि मात्र घटना गराइएको छ।'