म्यानचेस्टर युनाइटेड र नेदरल्यान्ड्सका पूर्व प्रशिक्षक लुइस भान गालले २६ वर्ष लामो आफ्नो फुटबल जीवनबाट विश्राम लिएका छन्।
६५ वर्षीय चर्चित प्रशिक्षकले करिब अढाई दशक लामो करिअरबाट आफूले विश्राम लिएको बताएका छन्। भान गाललाई सन् २०१६ को मेमा म्यानचेस्टरले एफए कपको उपाधि जितेपछि एक्कासी हटाएको थियो। उनी त्यसयता कुनै क्लबमा आवद्ध थिएनन्। ‘मैले सोचे अब रोकिनु पर्छ। त्यसैले मैले थप अध्यनका लागि विदा लिने विचार गरे। अब मलाई लाग्दैन म प्रशिक्षणमा फर्किने छु,’ भान गालले डच पत्रिका डे टेलिग्राफलाई बताएका छन्।
भान गालले डच क्लब एजेक्स, स्पेनिस क्लब बार्सिलोना र जर्मनीको वायर्न म्युनिखलाई पनि प्रशिक्षण दिएका थिए। फुटबलमा लामो समय योगदान गरेबापत उनलाई गत सोमबार डच सरकारले ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको थियो। यही कार्यक्रममा उनले आफ्नो फुटबल प्रशिक्षकको लामो कार्यकाल समाप्तीको घोषणा गरेका थिए।
भान गोलको नेतृत्वमा एजेक्सले १९९४–९५ र ९६ गरि लगातार डच लिगको उपाधि मात्र जितेको थिएन, १९९२ मा युइएफए कप र १९९५ मा च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो। उनले बार्सिलोनालाई १९९८ र ९९ मा ला लिगाको उपाधि जिताएका थिए। यस्तै, म्युनिख २०१० मा बुन्डेसलिगा च्याम्पियन बनेको थियो।
भान गोलले २००९ मा एजे अलकामरलाई पनि लिग विजेता बनाएका थिए। म्यानचेस्टरले उनको नेतृत्वमा २०१६ मा एफए कप जितेको थियो।
उनले पारिवारिक कारण फुटबलबाट बिदा लिने निर्णय गरेको टेलिग्राफले जनाएको छ। गत महिना मात्र उनको ज्वाइँको असमायिक निधन भएको थियो। उनले अन्तर्वार्ताको क्रममा आफ्नो प्रशिक्षण जीवनको निरन्तरताका लागि सुदुर पूर्वको देशबाट आकर्षक प्रस्ताव आएको खुलासा गरे।