जिल्ला भू–संरक्षण कार्यालयमा पहिरो नियन्त्रणका लागि ३३ आवेदन परेको छ।
पानी परेर वा सुख्खा याममा गएको पहिरो नियन्त्रण गर्नका लागि आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ३३ आवेदन परेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख मनोहरकुमार शाहले जानकारी दिए।
उनले भने, “भदौमा परेको भीषण पानीमा काठमाडौँ क्षेत्रमा रहेको बलौटे माटो खस्नुका साथै सुख्खायाममा समेत पहिरो जाने गरेको छ।” शिवपुरी, नागार्जुन, साँखुलगायतका क्षेत्रमा धेरै पहिरो जाने गरेको उनले बताए।
यस्तै नदी संरक्षणका लागि सोही अवधिमा १२ निवेदन परेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख शाहले नागार्जुन, बूढानीलकण्ठ, कागेश्वर मनोहरा, विष्णुमतिलगायतका क्षेत्रको नदी संरक्षणका लागि निवेदन माग भई आएको बताए।
जलाधार संरक्षणका लागि कार्यालयमा धेरै माग आए पनि बजेट अभावका कारण काम गर्न नसकेको बताए। उनले भने, “कामका लागि १० करोड रुपैयाँले पनि पुग्दैन तर कार्यालयको बजेट एक करोड ५५ लाख रुपैयाँ मात्र छ यति थोरै रकमले कसरी काम गर्ने?”
कार्यालय प्रमुख शाहले भू–संरक्षणको काम धेरै भए पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसकेको बताए। रासस