जाल्टन इब्राहिमोभिकले खेल सकिन ६ मिनट अघि गरेको गोलका कारण म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा लिभरपुलसँगको सम्भावित हार टारेको छ।
लिभरपुलले २७ मिनेटमा पाएको पेनाल्टी अवसरलाई जेम्स मिलनेरले गोलमा परिणत गरेका थिए। जसका कारण भ्रमणकारी क्लबले पहिलो हाफमा गोलको अग्रता लिएको थियो।
तर, ८४ मिनेटमा इब्राहिमोभिकले हेडिङ गोल गर्दै लिभरपुलको जितको सपनामा तुसारापात गरे। इब्राहिमोभिकको २० खेलमा यो १४ गोल थियो। उनी प्रिमियर लिगको अघिल्लो २० खेलमा म्यानचेस्टरका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो बन्न पुगेका छन्। यसअघि ड्योट योर्क र रुड भान निस्टेलरोयले १५–१५ गोल गरेका थिए।
सन् १९८७–८८ पछि यी दुई क्लबबीच दुवै लिग खेल बराबरीमा टुँगिएको पहिलो पल्ट हो। लिभरपुलले ओल्ड ट्राफोडमा छैटौं पल्ट पेनाल्टी प्रहार गर्न पाएको हो।
जुन प्रिमियर लिगमा कुनै पनि क्लबले विपक्षी टोलीको घरेलु मैदानमा सर्वाधिक पेनाल्टीको मौका पाएको पहिलो अवसर हो। मिलनेरले प्रिमियर लिगमा अहिलेसम्म १० गोल पेनाल्टीबाट गरिसकेका छन्, जसमा लिभरपुलका लागि मात्र उनले ७ वटा पेनाल्टी गोल गरेका छन्। खेल बराबरीमा राखेपछि लिभरपुल ४५ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ। म्यानचेस्टर भने ४० अंकका साथ छैटौं स्थानमा छ।