पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अहिले १२ बजे पुग्ने भएका छन्।
बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएको भएकाले पूर्वराजा १२ बजेर ५ मिनेटमा शीतलनिवास पुग्ने पूर्वराजाका सहयोगी फणि पाठकले सेतोपाटीलाई बताए। ‘ १२ बजेर ५ मिनेटमा उहाँलाई निम्तो आएको छ। समयमै उहाँ शीतल निवास पुग्नुहुन्छ,’ पाठकले भने,‘बरबधुलाई आशिर्वाद दिएर उहाँ फर्कने कार्यक्रम तय भएको छ।’
केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका हुन्।
२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा पछि ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छोडेका थिए।
राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ।
जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै भइरहेको छ।
विवाह समारोहमा उपस्थित हुन अभिषेक बरियात लिएर बिहान नौ बजे शितलनिवास पुगेका छन्। विवाहका लागि दुलहीझैं सिंगारिएको राष्ट्रपति निवासमा सामाजिक सुधार ऐन अनुसार ५१ जना मात्र जन्ती पुगेका थिए ।
करिब एक घन्टामा विवाहका सबै विधि पूरा हुने अनुमान राष्ट्रपति सचिवालयले गरेको छ । हिन्दु विधिअनुसार सम्पन्न हुने विवाहमा कन्यादान र गोडा धुने कार्यक्रम राखिनेछैन।
शितलनिवासको कोशी हलमा सम्पन्न हुने विवाहमा थोरै मात्र आमन्त्रित सहभागी हुने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । दुलाहा अभिशेषकी आमा किरण यादव महोत्तरी निर्वाचनन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद हुन् । किरण गणतन्त्र नेपालका पहिलो राष्ट्रपति यादवकी भतिजी हुन्।
एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन् । भण्डारीको निधन हुँदा निशाकुशुम पाँच वर्षकी थिइन् । विवाह भोजमा भने एक हजार ५ सय पाहुना उपस्थित हुने बताइएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहसहित दलका नेताहरुलाई पनि विवाह समारोहमा सहभागी हुन निम्तो दिइएको छ । निम्तालुहरुलाई मध्यान्ह १२ बजे उपस्थित हुन अनुरोध गरिएको छ ।