सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई बर्खास्त गरेकोमा नेकपा एमाले स्थायी समितिले आलोचना गरेको छ। आइतबार बसेको स्थायी समिति बैठकले 'सरकारले गलत नियतले प्राधिकरणको सिइओलाई हटाएको' आरोप लगाएको छ।
'२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट पीडितहरुलाई राहत र सहयोग पुर्याउँदै पुनर्निर्माणको कामलाई प्रभावकारी ढङ्गले अगाडि लैजानुपर्ने बेला पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरिएकोप्रति पार्टी गम्भीर भएको छ। समयमा बजेट स्वीकृत नगर्ने, स्वीकृत बजेटलाई समयमै निकासा नदिने, कर्मचारी नखटाउने तथा हरतरहले पुनर्निर्माण प्राधिकरणका काममा असहयोग पुर्याउँदै आएको सरकारले पुनर्निर्माणमा ढिलाइको दोष प्रमुख कार्यकारी अधिकृतलाई दिनु पूर्वाग्रही र प्रतिशोधपूर्ण कृत्य हो र यसका पछाडि सरकारको गलत उद्देश्य निहीत छ भन्ने ठहर गर्दै सरकारको यस निर्णयप्रति पार्टी खेद व्यक्त गर्दछ,' बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ज्ञवालीलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गत साल पुस १० मा प्रमुख कार्यकारी नियुक्त गरेको थियो। तर, 'काम गर्न नसकेको' भन्दै वर्तमान सरकारले बर्खास्त गरेको हो। उनलाई बर्खास्त गर्दै वर्तमान सरकारले गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ।
पोखरेल सुशील कोइराला सरकारको पालामा योजना आयोगका उपाध्यक्ष थिए। कोइराला सरकारले उनलाई प्राधिकरणको प्रमुख कार्यकारी बनाउन खोजेको थियो। ओली नेतृत्वको सरकारले पोखरेललाई अस्वीकार गर्दै ज्ञवालीलाई नियुक्त गरेको थियो।