दुई पछि पोखरामा सुरु हुने १५ औं आहा रारा गोल्डकपको तयारी पुरा भएको छ । आयोजनकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका विजेताले ५ लाख १ हजार १ रुपैया नगदसहित उपाधि, मेडल, प्राप्त गर्ने सहारा क्बलका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए ।
माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उपविजेताले २ लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, एएनए युएसए फुटबल टिम, रमपम झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, युनाईटेड सिक्किम फुटबल क्लब भारत, मनाङ मस्र्याङदी, नेपाली सेनाको आर्मी क्लब र फरासगञ्ज एससी बंगलादेश सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेल सहारा क्लब र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबबीच हुनेछ।
प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैया खर्च लाग्ने र एक करोड ७ लाख रुपैया आम्दानीको अपेक्षा गरिएको छ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।
वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताबाट बचत भएको रकमबाट क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल १६ जिल्लाका २८ वालकहरु सम्पूर्ण सुविधाका साथ फुटवल प्रशिक्षण लिइरहेका छन् ।
प्रतियोगिता अवलोकनका लागि एक हजार रुपैयाको सिजनल टिकट, प्रि क्वाटरफाइनलमा ६० रुपैया, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय र फाइनल खेलको लागि एक सय ५० रुपैया टिकटदर कायम गरिएको छ।
प्रतियोगिता अबलोकनका लागि पुगेका दर्शकलाई प्रत्येक दिन गोलाप्रथाबाट एक जनालाई माइक्रो म्याक्स मोवाईल प्रदान गरिने र अन्तिममा एक जना भाग्यमानी दर्शकलाई एक तोला सुनको सिक्का तथा अर्को एक जनालाई एलजी टिभी प्रदान गरिने आयोजकले जनाएको छ।