उद्योग विभागले आफ्ना सेवाहरू अनलाईन प्रणालीमार्फत् दिने भएको छ। उद्योग मन्त्री नविन्द्रराज जोशीले आईताबार सिंहदरबारमा एक कार्यक्रमकाबीच अनलाईन प्रणालीमार्फत उद्योग विभागले दिने सेवाको सुरुवात गरेका हुन्।
उद्योग विभागले उद्यम विकासका लागि दिँदै आएको सेवाबारे आवश्यक जानकारी पनि अनलाईन प्रणालीमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा बोल्दै उद्योग मन्त्री जोशीले सुशासनलाई केन्द्र भागमा राखेर अनलाईन प्रणालीको विकास गर्नुपरेको स्पष्ट पारे।
उनले उद्योगमा लगानी मैंत्री वातावरण बनाउन पनि सरकारले नयाँ प्रविधिको प्रयोग गर्दै लैजान नीति लिएको पनि स्पष्ट पारे। मन्त्री जोशीले अनलाईन प्रविधिको अभावमा वैदेशिक लगानी भित्र्याउन भईरहेको कठिनाई पनि हटेर जाने उल्लेख गरे।
मन्त्री जोशीले दश वर्ष भित्र रोजगारीको खोजीमा युवाहरुलाई विदेशिन नपर्ने गरी सरकारले काम अघि बढाएको दावी पनि गरे। देश भित्र नै रोजगारीको अवसर सृजना हुने गरी सरकारले कामको प्राथमिकता निर्धारण गर्दै गएको उनको भनाई थियो।
उद्योग विभागले सुरु गरेको अनलाईन सेवामा उद्योग दर्ता, वैदेशिक लगानीका लागि आवश्यक मापदण्डलगायतको व्यवस्था गरिएको छ।